Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

रसुवा बाढीपीडितलाई बीमा प्राधिकरणको राहत, किस्ता तिर्न ६ महिना छुट

रसुवा बाढीपीडितलाई बीमा प्राधिकरणको राहत, किस्ता तिर्न ६ महिना छुट


  • 323
    Shares

    रसुवा बाढीपीडितलाई बीमा प्राधिकरणको राहत, किस्ता तिर्न ६ महिना छुट
    images

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट प्रभावित बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

    प्राधिकरणले आठ बुँदे परिपत्र जारी गर्दै मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी प्रक्रियालाई सरल बनाउन निर्देशन दिएको हो।

    गत भदौ १० गते भोटेकोशी, त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट प्रभावित बीमितलाई लक्षित गर्दै प्राधिकरणले आवश्यक कागजात तथा प्रक्रियामा सहजीकरण गर्न भनेको छ।

    निर्देशनअनुसार बीमा दाबीका लागि बीमितको नाम, मृत्युको मिति र कारण, बीमालेख नम्बर तथा दाबीकर्तासँगको नाता खुलाएर सामान्य निवेदन दिए पुग्नेछ। पहिचान र नाता प्रमाणित गर्न नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा लालपुर्जा प्रयोग गर्न सकिनेछ।

    यस्ता छन् नेपाल बीमा प्राधिकरणले जारी गरेको ८ बुँदे निर्देशन

    १. न्यूनतम विवरणमै निवेदन मान्य: दाबीका लागि बीमितको नाम, मृत्युको मिति र कारण, बीमालेख नम्बर तथा दाबीकर्ताको नाता खुलाएर सामान्य निवेदन दिए पुग्ने।

    २. सरकारी परिचयपत्रलाई मान्यता: दाबीकर्ताको पहिचान र नाता प्रमाणीकरणका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स, राहदानी वा लालपुर्जा पेस गर्न सकिने।

    ३. सिफारिस र न्यायिक घोषणा मान्य: मृत्यु वा बेपत्ता पुष्टि गर्न स्थानीय तहको सिफारिस वा अदालतको न्यायिक घोषणालाई आधिकारिक मान्नुपर्ने।

    ४. सक्कल कागजात नचाहिने: बाढीमा सक्कल बीमालेख नष्ट भएको भए कम्पनीकै अभिलेखमा रहेको विवरणका आधारमा दाबी भुक्तानी गर्नुपर्ने।

    ५. निःशुल्क प्रतिलिपि बीमालेख: बीमितले माग गरेमा कम्पनीले बिनाकुनै शुल्क बीमालेखको प्रतिलिपि उपलब्ध गराउनुपर्ने।

    ६. अभिलेख अद्यावधिकमा सहकार्य: कम्पनीका कागजात नष्ट भएको अवस्थामा बीमित र अभिकर्ताले विवरण दिएर अभिलेख अद्यावधिक गर्न सघाउनुपर्ने।

    ७. किस्ता तिर्न ६ महिना ब्याज छुटसहित म्याद: बीमाशुल्क वा कर्जाको किस्ता तिर्न नसक्नेहरूलाई ६ महिनासम्म कुनै ब्याज वा जरिवाना नलिई म्याद थप गर्नुपर्ने।

    ८. बेपत्ताको हकमा स्वघोषणाबाटै भुक्तानी: बेपत्ता बीमितको हकमा हकवालाले पछि जीवित भेटिए कानुनबमोजिम सजाय भोग्न तयार रहेको स्वघोषणा गरेपछि मृत्यु दाबी भुक्तानी दिनुपर्ने।

     

     

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १२:०९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij