Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

हनिमुनमा पेरिस लैजाने वाचा गरेर जब शाहरुखले दार्जिलिङ पुर्‍याए

हनिमुनमा पेरिस लैजाने वाचा गरेर जब शाहरुखले दार्जिलिङ पुर्‍याए


  • 316
    Shares

    हनिमुनमा पेरिस लैजाने वाचा गरेर जब शाहरुखले दार्जिलिङ पुर्‍याए
    images

    काठमाडौं । श्रीमतीलाई हनिमुनमा पेरिस घुमाउने वाचा जोकोहीले गर्न सक्छ । तर, पेरिस लैजाने भन्दै दार्जिलिङ पुर्‍याउने आँट चाहिँ सबैले गर्न सक्दैनन् ।

    बलिउडका बादशाह शाहरुख खानले भने त्यतिबेला यही गरेका थिए । गौरी खानलाई पेरिसमा एफिल टावर देखाउने सपना देखाएका शाहरुखसँग न विदेश जाने टिकट किन्ने पैसा थियो, न त त्यो वाचा पूरा गर्ने आर्थिक हैसियत ।

    त्यसैले, उनले एउटा जुक्ति निकाले । पेरिस जाने भन्दै गौरीलाई दार्जिलिङ लगे । सुन्दा फिल्मी कथाजस्तो लाग्न सक्छ । तर, यो शाहरुख र गौरीको सुरुवाती संघर्षरत दिनको पुरानो किस्सा हो ।

    आफूसँग पैसा नभएको अवस्थामा गौरीलाई गरेको वाचा र त्यसलाई पूरा गर्न नसकेपछि निकालेको उपायबारे शाहरुख आफैंले एउटा अवार्ड समारोहमा सुनाएका थिए ।

    त्यतिबेला कार्यक्रम सञ्चालक विक्की कौशलले शाहरुख र गौरीको पुरानो तस्वीर देखाउँदै त्यसबारे सोधेका थिए ।

    तस्वीर हेरेपछि शाहरुखले आफ्नो विवाह, त्यो बेलाको आर्थिक अवस्था र हनिमुनको योजनाबारे रमाइलो ढंगले खुलासा गरेका थिए ।

    खल्तीमा पैसा थिएन

    शाहरुख र गौरीको प्रेम सम्बन्ध सन् १९८८ मा सुरु भएको थियो । दिल्लीमा एउटा पार्टीमा भेट भएका उनीहरूबीचको सम्बन्ध क्रमशः गहिरिँदै गयो । अन्ततः सन् १९९१ अक्टोबर २५ मा उनीहरूले विवाह गरे ।

    गौरीको माइतीको थर चिब्बर थियो । विवाहपछि उनी गौरी खानका रूपमा चिनिइन् । त्यतिबेला शाहरुख आजजस्ता चर्चित अभिनेता थिएनन् ।

    न उनको नाममा स्टारडम थियो, न ठूलो कमाइको टुंगो । अभिनयको दुनियाँमा आफ्नो स्थान बनाउन संघर्ष गरिरहेका शाहरुखले गौरीसँग विवाह गरेपछि नयाँ जीवनको सुरुवात गरेका थिए ।

    शाहरुखले उक्त अवार्ड समारोहमा आफ्नो त्यतिबेलाको आर्थिक अवस्थाबारे खुलाउँदै गौरी आफूभन्दा राम्रो आर्थिक पृष्ठभूमिको परिवारबाट आएको बताएका थिए । उनी आफैं भने आर्थिक रूपमा कमजोर थिए ।

    तर, प्रेममा सपना देख्न पैसा चाहिँदैन । शाहरुखले पनि गौरीलाई एउटा सपना देखाए, विवाहपछि उनलाई पेरिस लैजाने र संसारकै चर्चित संरचनामध्ये एक एफिल टावर देखाउने ।

    यसरी शाहरुखले सम्झिएका थिए, ‘मैले गौरीलाई विवाहपछि पेरिस लैजान्छु र एफिल टावर देखाउँछु भनेको थिएँ । तर, त्यो सबै झुट थियो । न मसँग पैसा थियो, न हवाई टिकट । तैपनि मैले कुनै न कुनै तरिकाले उनलाई विश्वास दिलाएँ ।’

    उनको यो स्वीकारोक्तिमा हाँसो मिसिएको थियो । आज करोडौंको सम्पत्तिका मालिक बनेका शाहरुखको जीवनमा एउटा समय यस्तो पनि थियो, जतिबेला श्रीमतीलाई विदेश घुमाउने वाचा पूरा गर्न सक्ने अवस्था थिएन ।

    वाचा त गरियो । अब पूरा कसरी गर्ने ?

    शाहरुखसँग यसको सीधा उत्तर थिएन । तर, उनीसँग एउटा अवसर थियो । उनी राज कपुर सन्तोषी निर्देशित फिल्म ‘राजु बन गया जेन्टलम्यान’ को गीत छायांकनका लागि दार्जिलिङ जाँदै थिए ।

    त्यही यात्रालाई उनले हनिमुनसँग जोड्ने योजना बनाए ।

    उनले अवार्ड समारोहमा हाँस्दै सुनाएका थिए कि गौरीले विदेश खासै यात्रा नगरेकाले आफूले भनेको ठाउँ पत्याउने ठाने । त्यसपछि उनले दार्जिलिङलाई नै पेरिस भनेर गौरीलाई त्यहाँ लगे ।

    उनले भनेका थिए, ‘मलाई लाग्यो, गौरी पनि विदेश गएकी छैनन् । त्यसैले मैले उनलाई पेरिस भन्दै दार्जिलिङ लगेँ।’

    यसरी पेरिसमा एफिल टावर देखाउने वाचा गरेका शाहरुखले गौरीलाई दार्जिलिङको पहाडमा पुर्‍याए । विवाह भएको करिब २०–३० दिनपछि उनीहरूले त्यही यात्रालाई हनिमुनका रूपमा बिताए ।

    शाहरुखको यो खुलासाले त्यतिबेला उपस्थित दर्शकलाई हँसाएको थियो । किनकि, पर्दामा रोमान्सका बादशाह बनेका अभिनेताको आफ्नै प्रेम जीवनमा यस्तो रमाइलो प्रसंग पनि रहेछ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १२:२४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij