२०८३ कार्तिक १२ गते बिहिवार
काठमाडौं । राहुल यादवको घातक बलिङमा काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु ११६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं तीन बल अगावै ११५ रनमा अलआउट भयो।
शीर्षक्रमका ब्याटरहरू लामो समय क्रिजमा टिक्न नसक्दा काठमाडौंका लागि मध्यक्रमका ब्याटर भीम सार्कीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। उनी २९ बलमा चार चौका सहयोगमा ३३ रन बनाउँदा ललित राजवंशीको बलमा विकेट किपर कुशल परेराको हातबाट आउट भए।
लामो सट खेल्ने प्रयास गर्दा काठमाडौंका सात खेलाडी क्याच आउट भए। रासिद खान १७ रन बनाउँदा मइन अलीको बलमा क्याच आउट भए। ओपनर स्मित पेटल १३ रन बनाउँदा क्याच आउट नै भए।
साम हेजलेट एक, हरिशंकर शाह नौ, जनादन खान पाँच र सुमित महर्जन १० रन थप्दै पेभेलियन फर्के। कप्तान करण केसी आठ रनमा क्याच आउट भए। आदिल आलम शून्य रनमा नै एलबीडब्लू धरापमा परे।
जनकपुरका लागि राहुल यादवले चार विकेट लिए। उनले आफ्नो स्पेलमा ३१ रन खर्चे। ट्यालेन्ट हन्टबाट जनकपुरमा आएका राहुलले दुई खेलमा ६ विकेट आफ्नो नाममा गर्न सफल भएका छन्। उनले आफ्नो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भएका हुन्।
सैफ हसनले दुई विकेट लिए। किफायती बलिङ गरेका उनले आफ्नो स्पेलमा ११ रन खर्चेर दुई विकेट आफ्नो नाममा गरे।
मोइन अली, हरमित सिंह र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो। जनकपुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij