Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

गगन थापाको सरकारलाई पाँच सन्देश : ‘वक्तव्य होइन, परिणाम चाहियो’

गगन थापाको सरकारलाई पाँच सन्देश : ‘वक्तव्य होइन, परिणाम चाहियो’


  • 302
    Shares

    गगन थापाको सरकारलाई पाँच सन्देश : ‘वक्तव्य होइन, परिणाम चाहियो’
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता गगन थापाले सरकारका पछिल्ला गतिविधिमाथि प्रश्न उठाउँदै कार्यशैली सुधार्न आग्रह गरेका छन्। उनले अभिव्यक्ति स्वतन्त्रता, प्रहरीको कार्यशैली, अनुसन्धानको निष्पक्षता र राज्यका संस्थाहरूको स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका हुन्।

    आइतबार पार्टी कार्यालयमा पदाधिकारीहरूसँगको छलफलपछि विशेष सम्बोधन गर्दै थापाले सरकारलाई पाँच वर्ष शासन गर्ने जनादेश प्राप्त भए पनि त्यसको अर्थ प्रतिपक्ष र नागरिकलाई डर देखाएर शासन गर्ने छुट नभएको स्पष्ट पारे।

    उनले सरकारका गतिविधिमा शक्तिको स्वेच्छाचारी प्रयोग देखिएको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि सरकारका राम्रा–नराम्रा दुवै कामको जिम्मेवारी लिनुपर्ने बताए।

    १. व्यक्तिको इच्छालाई कानुन नठानियोस्

    थापाले सरकारका पछिल्ला गतिविधिमा शक्ति र अधिकारको स्वेच्छाचारी प्रयोग देखिएको आरोप लगाए। विशेषगरी सञ्चारमाध्यम र पत्रकारमाथि भएका गतिविधिले सरकारको कार्यशैली तथा अभिव्यक्ति स्वतन्त्रताप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाएको उनको भनाइ छ।

    पत्रकार पक्राउ परेर छुटेको घटनालाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै उनले सरकार र प्रहरीको अधिकार प्रयोग गर्ने तरिकामाथि गम्भीर समीक्षा हुनुपर्ने बताए।

    २. रास्वपाको वक्तव्य होइन, सरकारको जवाफ चाहियो

    सरकारका गतिविधिबारे सत्तारूढ दलले वक्तव्य जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने थापाको भनाइ छ। उनले सरकारका गलत कामबारे रास्वपाले ठोस जवाफदेहिता देखाउनुपर्ने बताए।

    सरकारका काममाथि प्रश्न उठ्दा सत्तारूढ दलले संसदीय दलमार्फत प्रधानमन्त्रीसँग जवाफ माग्नुपर्ने उनको धारणा छ। औपचारिक वक्तव्य जारी गर्नुको सट्टा गल्ती भए त्यसको जिम्मेवारी लिने र आवश्यक कारबाही अघि बढाउने व्यवस्था हुनुपर्ने उनले बताए।

    ३. सरकारका राम्रा–नराम्रा कामको जिम्मेवारी रास्वपाले लेओस्

    थापाले सरकारका उपलब्धिको श्रेय लिने तर कमजोरीको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति स्वीकार्य नहुने बताए।

    विगतमा कांग्रेस नेतृत्वको सरकारका काममाथि प्रश्न उठ्दा रास्वपाले सरकार कांग्रेसको भएकाले जिम्मेवारी पनि कांग्रेसले नै लिनुपर्ने तर्क गर्ने गरेको स्मरण गराउँदै उनले अहिले आफ्नै नेतृत्वको सरकारका कामप्रति रास्वपा कति जिम्मेवार छ भन्ने प्रश्न गरे।

    ४. अनुसन्धान निष्पक्ष होस्, छानबिन चयनात्मक नबनोस्

    सरकारले विभिन्न काण्ड तथा प्रकरणको अनुसन्धान गर्ने प्रतिबद्धता जनाए पनि त्यसको निष्पक्षतामाथि थापाले प्रश्न उठाएका छन्।

    सार्वजनिक भएका सबै प्रकरणको निष्पक्ष अनुसन्धान हुनुपर्ने र दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनको भनाइ छ। तर, जनताको प्रतिक्रिया हेरेर अनुसन्धान अघि बढाउने वा केही निश्चित घटनालाई मात्रै प्राथमिकता दिने प्रवृत्तिले अनुसन्धानमाथिको विश्वास कमजोर पार्ने उनले बताए।

    ५. प्रधानमन्त्री होइन, राज्यका संस्था बलिया बनून्

    थापाले बलियो सरकारको अर्थ प्रधानमन्त्रीलाई मात्रै शक्तिशाली बनाउनु नभई राज्यका संस्थाहरूलाई सक्षम र स्वतन्त्र बनाउनु भएको बताए।

    प्रहरी, निजामती प्रशासन, न्यायपालिका तथा संवैधानिक निकायको स्वायत्तता कायम राख्नु सरकारको जिम्मेवारी भएको उनको भनाइ छ। कर्मचारी तथा व्यवसायीमा अनिश्चितता र त्रासको वातावरण सिर्जना हुन नहुने उल्लेख गर्दै उनले अर्थतन्त्रमा विश्वास जगाउने काम गर्न सरकारलाई आग्रह गरे।

    सरकारका गतिविधिमाथि प्रश्न उठाउने र जवाफ माग्ने कामलाई प्रतिपक्षको जिम्मेवारीका रूपमा प्रस्तुत गर्दै थापाले सरकारको आगामी कार्यशैलीमाथि निगरानी गरिरहने स्पष्ट पारे।

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - १७:३०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij