२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । युक्रेनको दक्षिणी जापोरिज्जिया क्षेत्रस्थित कोमिशुभाखा गाउँमा रुसी बम आक्रमण हुँदा कम्तीमा २६ जनाको मृत्यु भएको बिबिसिले जनाएको छ । मानवीय सहायता सामाग्री वितरणका लागि प्रयोग भइरहेको केन्द्रलाई लक्षित गरी सोमबार भएको उक्त आक्रमणमा थप पाँच जना घाइते भएका छन् भने केही व्यक्ति अझै भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार गाउँमा कम्तीमा नौवटा तीन हजार किलोका हवाई बम प्रहार गरिएको थियो । आक्रमणबाट स्थानीय विद्यालयमा रहेको सहायता वितरण केन्द्र ध्वस्त भएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणलाई ‘अत्यन्त भयावह’ भन्दै रुसी सेनाले सहायता लिन भेला भएका नागरिकलाई लक्षित गरेको आरोप लगाएका छन् । उनका अनुसार विद्यालयमा पहिलो आक्रमण भएपछि मानिसहरू आश्रय लिइरहेको स्थानमा दोस्रो आक्रमण गरिएको थियो ।
युक्रेनको आपत्कालीन सेवा र उद्धार टोलीले भग्नावशेषमा खोजी जारी राखेका छन् । उद्धार कार्यका क्रममा क्षेत्रमा रुसी ड्रोन आक्रमण भइरहेकाले केही समय काम रोक्नुपरेको अधिकारीहरूले बताएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
रुसी सेनाले घटनाबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन । आक्रमणपछि जापोरिज्जिया क्षेत्रमा मंगलबार शोक दिवस घोषणा गरिएको छ ।
यसैबीच, अमेरिका, रुस र युक्रेनका प्रतिनिधिबीच आगामी साता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा शान्ति वार्ता पुनः सुरु हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले बताएका छन् । वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण र मानवीय प्रयासबारे छलफल हुने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij