२०८३ कार्तिक १७ गते मंगलवार
१. स्ट्रोकले थलिएकी हेमकुमारीले केएमसीमा पाइन् नयाँ जीवन, उपचारपछि खुशी हुँदै फर्किइन् घर
स्वास्थ्यमा आउने अप्रत्याशित समस्याले मानिसको जीवनलाई क्षणभरमै बदलिदिन सक्छ । हिँडडुल गर्न, बोल्न र आफ्नै दैनिक काम गर्नसमेत अरूको सहारा लिनुपर्ने अवस्था आएपछि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको सामना गर्न बाध्य हुन्छन् । रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाले पनि दुई महिनाअघि यस्तै कठिन परिस्थितिको सामना गर्नुप¥यो । स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन एकाएक कष्टकर बन्यो। तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको ठूलो चिरफारबिनाको सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। अहिले उनी खुसी हुँदै घर फर्किएकी छन् ।
२. सिक्किम आइडल अब अन्तर्राष्ट्रिय स्तरमा, नेपाली भाषी गायकलाई सहभागिताको आह्वान
सिक्किममा आयोजना हुँदै आएको गायन रियालिटी शो ‘सिक्किम आइडल’को तेस्रो संस्करण अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने भएको छ । यसअघि सिक्किम राज्यभित्र मात्रै सिमित रहेको प्रतियोगितालाई यसपटक अन्तर्राष्ट्रिय स्वरूप दिइएको आयोजकले जनाएको हो । सिक्किमको वार्ता टेलिभिजनले आयोजना गर्ने ‘सिक्किम आइडल इन्टरनेसनल’मा नेपालसहित विश्वभर रहेका नेपाली भाषी गायक तथा संगीतप्रेमीलाई सहभागी हुन आह्वान गरिएको छ । प्रतियोगिताबारे जानकारी दिन मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले अनलाइन अडिसन शुरु भइसकेको र नोभेम्बर २५, २०२६ सम्म भिडियो पठाउन सकिने जनाएको छ ।
३. विपद्बाट प्रभावित २६९ बालबालिकालाई संरक्षणको आवश्यकता, १८ वर्षसम्मको पालनपोषण र शिक्षाको व्यवस्था गरिने
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विपद्बाट प्रभावित २ सय ६९ जना बालबालिकालाई विशेष संरक्षणको आवश्यकता रहेको पाइएको छ । सरकारले गरेको विस्तृत अध्ययनका क्रममा बाबुआमा दुवै गुमाएका वा सम्पर्कविहीन भएका ४१ जना बालबालिका पहिचान भएका हुन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रभावित बालबालिकाको संरक्षण, पालनपोषण तथा शिक्षाको व्यवस्था गर्न विभिन्न संस्थासँग सहकार्य गरिएको जानकारी दिनुभयो । मंगलवार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उहाँले बालबालिकाको अवस्था पहिचान गर्न राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा स्थलगत अध्ययन गरिएको बताउनु भयो ।
४. विपद् प्रभावित क्षेत्रमा संरक्षणका लागि ७३ करोड ९९ लाखको कार्ययोजना कार्यान्वयनमा
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा गएको विपद्पछि प्रभावित महिला, बालबालिका, किशोरी तथा अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि सरकारले ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ बराबरको कार्ययोजना कार्यान्वयन गरिरहेको जनाएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले विपद्पछिको तत्कालीन उद्धार, संरक्षण तथा पुनःस्थापनाका लागि विभिन्न कार्यसमूह परिचालन गरी कार्ययोजना कार्यान्वयन भइरहेको जानकारी दिनुभएको हो । मंगलवार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उहाँले विपद्को तिब्रता, प्रभावित समुदायमा परेको असर र तत्काल आवश्यक प्रतिक्रियाका आधारमा कार्ययोजना तयार गरिएको बताउनु भयो ।
५. विपद् प्रभावित क्षेत्रमा गैरसरकारी संस्थामार्फत झन्डै ९५ करोडको राहत सामग्री परिचालन
भोटेकोशी तथा कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत झन्डै ९५ करोड रुपैयाँ बराबरको राहत सामग्री परिचालन भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले गैरसरकारी संस्थाहरूबाट कुल ९४ करोड ९४ लाख ९४ हजार ५६७ रुपैयाँ बराबरको राहत सामग्री सहयोग प्राप्त भएको जानकारी दिनुभएको हो । मंगलवार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उहाँले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट ७२ करोड २१ लाख २७ हजार ९६० रुपैयाँ र राष्ट्रिय गैरसरकारी संस्थाबाट २२ करोड ७३ लाख ६६ हजार रुपैयाँ बराबरको राहत सामग्री प्राप्त भएको बताउनु भयो । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रधानमन्त्री राहत कोषमा १० करोड ७१ लाख ५३ हजार ६४९ रुपैयाँ नगद जम्मा गरेका छन् ।
६. रास्वपा नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गरेनः महत
नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । पार्टी सम्पर्क कार्यालय चुनदेवीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उहाँले सुशासनको प्रतिवद्धतासहित बनेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको र राज्यका विभिन्न संरचनामा अन्योल बढेको आरोप लगाउनुभएको हो । प्रशासनतन्त्र र संवैधानिक निकायको सञ्चालनमा विधि तथा प्रक्रिया पालना नभएको भन्दै उहाँले सरकारलाई कानूनी शासनको प्रत्याभूति गराउन आग्रह गर्नुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै महतले सञ्चारकर्मीको अभिव्यक्ति र सूचना सम्प्रेषण गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनु भयो ।
७. रसेल प्रेरित विराटनगरको दोस्रो जित
आन्दे्र रसेलको अलराउण्ड प्रदर्शनसँगै विराटनगर किङ्सले सनसनीपूर्ण जित निकाल्दै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा दोस्रो सफलता पाएको छ ।
कीर्तिपुरमा भएको आफ्नो चाथो खेलमा विराटनगरले मंगलवार जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जित निकाल्दा रसेलले अलराउण्ड प्रदर्शन गरे । रसेलले अर्धशतकसँगै चार विकेट लिँदै जित दिलाए । उनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यससँगै विराटनगरले चार खेलमा दोस्रो सफलता पायो । जनकपुरको पनि चौथो खेलमा दोस्रो हार हो । त्रिवि क्रिकेट स्टेडियममा विराटनगरले १७५ रनको चुनौतीपूर्ण लक्ष्य दियो । जवाफमा जनकपुरले सात विकेटको क्षतिमा १७२ रन बनाउन सक्यो ।
८. माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, ७३ करोड बिगो मागदाबी
हदबन्दी छुटमा प्राप्त जग्गा विक्री वितरण गर्न दिई सरकारी तथा सार्वजनिक सम्पती हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत रुविना शाहीको प्रतिवेदन जाहेरीका आधारमा मंगलवार मुद्दा दर्ता भएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभएको हो । मुद्दामा तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन सङ्घीय मामिला, संविधानसभा तथा संसदीय व्यवस्था तथा संस्कृति मन्त्री डा. मिनेन्द्र रिजाल, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्वर्गीय डम्बर श्रेष्ठ र तत्कालीन मुख्यसचिव स्वर्गीय माधवप्रसाद घिमिरेसहित ९७ जनालाई प्रतिवादी बनाइएको छ ।
९.देउवा काँग्रेसको १५ औँ महाधिवेशन मङ्सिर २१ देखि, देउवा नेतृत्वको आधिकारिकता स्थापित हुने महतको दाबी
नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले (देउवा समूह) पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा हुने बताउनुभएको छ । मंगलवार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा उहाँले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताउनुभएको हो । महाधिवेशनको तयारीबारे जानकारी दिँदै नेता महतले हालसम्म ६१८ पालिका, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको बताउनु भयो । त्यस्तै, २६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको र थप चार जिल्लामा प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
१०. चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौँ पूर्ण बैठकलाई नेपालबाट हेर्दा
चीनको कम्युनिस्ट पार्टीको २० औँ केन्द्रिय समितिको पाँचौँ पूर्ण बैठकले पार्टीको आत्मशासन र आन्तरिक अनुशासनलाई थप कडा बनाउने निर्णय गरेपछि त्यसको चर्चा चीनको आन्तरिक राजनीतिमा मात्र सिमित छैन । अक्टोबर २६ देखि २९ सम्म बेइजिङमा बसेको बैठकले ‘पूर्ण तथा कठोर पार्टी आत्मशासन’ सम्बन्धी प्रश्ताव पारित गरेको छ । भ्रष्टाचार नियन्त्रण, पार्टी सदस्यको आचरण, नेतृत्वको छनोट र व्यवस्थापन, पार्टी संगठनको प्रभावकारिता, अनुशासन र निगरानी प्रणालीलाई सुदृढ बनाउने विषय प्रस्तावका प्रमुख पक्ष हुन् । चीनको राजनीतिक प्रणालीमा कम्युनिस्ट पार्टी राज्यसत्ताको नेतृत्वकारी संस्था भएकाले पार्टीभित्रको यस्तो निर्णयले राज्य सञ्चालन, प्रशासनिक क्षमता, आर्थिक विकास र राष्ट्रिय नीतिको कार्यान्वयनमा समेत प्रभाव पार्न सक्छ ।
११. अपिहिमाल पर्यटन महोत्सव आजदेखि, १० हजार पर्यटक भित्र्याउने लक्ष्य
दार्चुलाको अपिहिमाल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपिहिमाल पर्यटन महोत्सव २०८३’ शुरु हुँदैछ । अपिहिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपिहिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ । अपिहिमाल, कालीढुंगा, रिछार्दे र बयेली ताल, धर्मी गुफा, मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल तथा विशाल पाटन यस क्षेत्रका प्रमुख पर्यटकीय आकर्षण हुन् । प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा विकास गरी स्थानीयको आयआर्जन र रोजगारी बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
१२. अमेरिकाले माग पूरा गरे दुई दिनमै होर्मुज जलमार्ग खुलाउन सकिने इरानको भनाइ
इरानले अमेरिकाले आफ्ना माग पूरा गरे दुई दिनभित्रै रणनीतिक महत्वको होर्मुज जलमार्ग पुनः सञ्चालन गर्न सकिने बताएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा अमेरिकाले इरानका ‘वैधानिक’ माग सम्बोधन गरे छोटो समयमै होर्मुज जलमार्गमा सुरक्षा पुनःस्थापना गरी वार्ता प्रक्रिया अघि बढाउन सकिने बताउनुभएको हो । उहाँकाअनुसार अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत हुने अप्रत्यक्ष संवादको आधार गत सेप्टेम्बरमा तेहरानले प्रश्ताव गरेको सातदिने योजना हो । इरानले आफ्नो सद्भावना देखाउँदै उक्त योजना कार्यान्वयनको अवधि घटाएर दुई दिनमा झारेको पनि उहाँले बताउनु भयो । बघाईले इरानले आफ्ना माग स्पष्ट, उचित र तार्किक रूपमा प्रश्तुत गरिसकेको उल्लेख गर्दै अबको प्रक्रिया अमेरिकाको निर्णयमा निर्भर रहने बताउनु भयो ।
१३. आगो लागेको सामान बोकेको ट्रक सहयोग माग्दै दमकल केन्द्र पुग्यो, केही मिनेटमै आगो नियन्त्रणमा
चीनको झानजियाङमा आगो लागेको सामान बोकेको एक ट्रक सिधै दमकल केन्द्र पुगेपछि अग्निनियन्त्रकहरूले केही मिनेटमै आगो नियन्त्रणमा लिएका छन् । ट्रकमा राखिएको सामानमा आगो लागेपछि चालकले तत्काल सहयोगका लागि ट्रक दमकल केन्द्रसम्म पु¥याएका थिए । ट्रक दमकल केन्द्र पुगेपछि अग्निनियन्त्रकहरू तुरुन्तै उद्धार तथा आगो नियन्त्रणमा खटिएका थिए । अग्निनियन्त्रकहरूको तिब्र प्रतिक्रियाका कारण केही मिनेटमै आगो पूर्ण रूपमा नियन्त्रणमा आएको जनाइएको छ । घटनामा कुनै मानवीय क्षति नभएको र ठूलो भौतिक क्षतिसमेत हुन नपाएको बताइएको छ । चालकले समयमै दमकल केन्द्र पुगेर सहयोग मागेपछि सम्भावित ठूलो दुर्घटना टरेको हो ।
१४. इजिप्टद्वारा बैंक अफ कायरोको ६५० मिलियन अमेरिकी डलरभन्दा बढीको आईपीओ निष्कासन
इजिप्टले बैंक अफ कायरोको ४५ प्रतिशत शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत विक्री गरी ६५० मिलियन अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ । यो इजिप्टको शसेयर बजारमा हालसम्मकै सबैभन्दा ठूलो आईपीओ निष्कासन भएको सरकारले जनाएको छ । सरकारकाअनुसार उक्त आईपीओबाट ३६ अर्ब ३० करोड इजिप्टियन पाउण्ड (करिव ६५०.७ मिलियन अमेरिकी डलर) रकम संकलन भएको हो । निष्कासनअन्तर्गत ६ अर्ब ८६ करोडभन्दा बढी कित्ता शेयर विक्री गरिएको थियो । उक्त कारोबारपछि बैंकको कुल मूल्यांकन करिब ८० अर्ब ८० करोड इजिप्टियन पाउण्ड पुगेको छ । बैंकको सेयर कारोबार शुरु भएको अवसरमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मुस्तफा मदबुली सहभागी हुनुभएको थियो । कार्यक्रममा बैंकिङ तथा पुँजी बजार क्षेत्रका उच्च अधिकारीहरूको पनि उपस्थिति थियो ।
१५. बुल्गेरियाको राष्ट्रपतीय निर्वाचनमा इलियाना योतोभाको जित, एक्जिट पोलको अनुमान
बुल्गेरियाकी वर्तमान राष्ट्रपति इलियाना योतोभा राष्ट्रपतीय निर्वाचनको दोस्रो चरण (रनअफ) मा विजयी हुनुभएको छ । आईतवार सम्पन्न मतदानपछि सार्वजनिक भएका एक्जिट पोलले योतोभाको जितको अनुमान गरेका हुन् । बुल्गेरियन नेसनल टेलिभिजनमा सार्वजनिक गरिएको अल्फा रिसर्चको एक्जिट पोलअनुसार योतोभाले ५२.५ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ । उहाँका प्रतिष्पर्धी तथा पूर्व कार्यवाहक प्रधानमन्त्री आन्द्रे गु्रोभले ४३.४ प्रतिशत मत प्राप्त गर्ने अनुमान छ । त्यस्तै, ४.१ प्रतिशत मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने विकल्प रोजेका छन् । त्यसैगरी, मायरा सोसियोलोजी एजेन्सीको सर्वेक्षणले योतोभाले ५१.१ प्रतिशत र गु्रोभले ४४.६ प्रतिशत मत प्राप्त गर्ने अनुमान गरेको छ ।
१६. मस्कोमा आतंकवादी आक्रमणको धम्की दिएको आरोपमा किशोर पक्राउ
रुसको संघीय सुरक्षा सेवाले मस्कोस्थित त्सारित्सिनो म्युजियम रिजर्भमा आतंकवादी आक्रमण गर्ने धम्की दिएको आरोपमा एक किशोरलाई पक्राउ गरेको छ । रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले आईतवार दिएको जानकारीअनुसार अमेरिकी कानून कार्यान्वयन निकायबाट सम्भावित आक्रमणको तयारीबारे सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो । सोही अनुसन्धानका क्रममा रुसी नागरिक ती किशोरलाई नियन्त्रणमा लिइएको हो । सुरक्षा निकायका अनुसार ती किशोरले सामाजिक सञ्जालमा आफूले रणनीतिक पोशाक लगाएको, अनुहार छोप्ने मास्क, टोपी, चस्मा र हेडफोन लगाएको तथा स्वचालित हतियारजस्तो देखिने वस्तु बोकेको तस्बिर र भिडियो सार्वजनिक गरेका थिए ।
१७. यमनको ताइज प्रान्तमा बजारमाथि आक्रमण, १० जनाको मृत्यु, दर्जनौँ घाइते
यमनको दक्षिणपश्चिमी ताइज प्रान्तमा रहेको एक बजारमा भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । यमनको हुथी समूहले सोमवार दिएको जानकारीअनुसार ताइज सहरको दक्षिणमा पर्ने अल–मिस्राख जिल्लास्थित अल–मखाफ क्षेत्रमा रहेको बजारलाई लक्षित गरी आक्रमण गरिएको हो । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले उक्त आक्रमणमा यमन सरकार समर्थित तथा साउदी नेतृत्वको गठबन्धनको समर्थन प्राप्त सेनाको संलग्नता रहेको आरोप लगाएको छ । मृतक तथा घाइतेको संख्या प्रारम्भिक रहेको जनाइएको छ । यसैबीच, यमनका अन्य क्षेत्रमा पनि साउदी हवाई आक्रमण तथा सीमापार आक्रमणका घटना भएको हुथी सञ्चारमाध्यमले जनाएको छ । ताइज प्रान्तको दक्षिणी क्षेत्रमा पर्ने अश शमायतायन जिल्लामा साउदी सेनाले दुई हवाई आक्रमण गरेको दाबी गरिएको छ । उक्त आक्रमणबाट भएको क्षतिबारे तत्काल विवरण सार्वजनिक भएको छैन ।
१८. अदालतमा हुने मेलमिलापको दर न्युन छः कानून सचिव ढुङ्गाना
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले अदालतमा हुने मेलामिलापको दर एकदमै न्युन रहेको बताउनुभएको छ । कानून, न्याय तथा मानव अधिकार समितिमा भएको मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा उहाँले अदालतमा ३० प्रतिशत मुद्दा मात्रै मेलमिलापका माध्यामबाट टुंगोमा पुग्ने गरेको बताउनुभएको हो । उहाँकाअनुसार स्थानीय तहमा करिव ८० प्रतिशत विवाद मेलमिलापबाट समाधान हुने गरेको छ । सर्वोच्च अदालतको मेलमिलाप परिषद्ले तयार पारेको रणनीतिक योजनामा ५० प्रतिशत मुद्दा मेलमिलापमा पठाउने लक्ष्य राखिएपनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उहाँले बताउनु भयो ।
१९. न्यायधीशमाथीको महाभियोगबारे सत्तारुढ दलले विपक्षी दलसंग संवाद गर्नुपर्छः आङ्देम्बे
नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सर्वोच्च अदालतका विवादीत न्यायाधीशलाई महाभियोग लगाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपक्षी दलहरुसँग पनि परामर्श गर्नुपर्ने बताउनुभएको छ । मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दे उहाँले रास्वपाले अहिलेसम्म औपचारिक संवाद नगरेको जानकारी आफूलाई नभएको बताउनु भयो । यस विषयमा सबैभन्दा पहिले सत्ता पक्षले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उहाँको भनाई छ । सत्तापक्ष स्पष्ट भएपछि राजनीतिक दलहरूबीच संवाद र सहमतिका आधारमा निकास खोज्न सकिने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यसको प्रयास सबैभन्दा पहिला सत्ता पक्षले नै गर्नुप¥यो । यसका विषयमा उहाँहरुले संवाद अगाडी बढाउनु भएको छैन ।
२०. फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैनः कानूनमन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी कानून आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताउनुभएको छ । कानून, न्याय तथा मानव अधिकार समितिमा मंगलवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा मन्त्री गौतमले फौजदारी कसुर, घरेलु हिंसा तथा लैङ्गिक हिंसासम्बन्धी मुद्दामा मेलमिलापको नीति लागू नहुने स्पष्ट पार्नुभएको हो । फौजदारी कानुन आकर्षित हुने अपराधलाई मेलमिलापको प्रक्रियाबाट समाधान गर्न नसकिने उहाँको भनाई छ । समाजमा दीर्घकालीन असर नपार्ने तथा व्यक्तिबीच उत्पन्न हुने निश्चित प्रकृतिका विवाद र वाणिज्यसम्बन्धी विवादलाई भने मेलमिलापमार्फत समाधान गर्न सकिने उहाँले बताउनु भयो । उहाँले अदालतमा पुगेका विवादलाई कम खर्चिलो, सहज र छिटो प्रक्रियाबाट समाधान गर्न मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न लागिएको जानकारी दिनुभयो ।
२१. संसद बैठक तत्काल बोलाउन सभामुखसँग काँग्रेस र एमालेको माग
विपक्षी दलहरु नेपाली काँग्रेस र एमालेले संसद तत्काल बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेका छन् । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेकपा एमाले संसदीय दलकी उपनेता पद्या अर्याल नेतृत्वको टोलीले मंगलवार सभामुख अर्याललाई छुट्टाछुट्टै भेटी संसदको बैठक तत्काल आह्वान गर्न आग्रह गर्नुभएको हो । पछिल्लो राजनीतिक घटनाक्रम, न्यायालयमा देखिएका विवाद, पत्रकारमाथिको धरपकड तथा जनजीविकासँग सम्बन्धित समस्याबारे संसदमा छलफल गर्नुपर्ने भन्दै विपक्षी दलहरुले संसद बैठक शिघ्र बोलाउन सभामुखसंग माग गरेका हुन् । नेपाली काँग्रेस संसदीय दलका नेता आङ्देम्बेले सभामुखसँगको भेटमा संसद बैठक चाँडो बोलाउन आग्रह गरेको जानकारी दिनुभयो । पछिल्लो समय सार्वजनिक भएका गम्भीर विषयमा संसदबाहिरबाट प्रतिक्रिया व्यक्त गर्नुभन्दा संसदभित्रै छलफल गरेर निकास खोज्नुपर्ने उहाँको भनाई छ ।
२२. स्वदेशी फूलको प्रवद्र्धन र नर्सरी व्यवसायको विकासमा सरकार प्रतिवद्धः मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरण गीता चौधरीले स्वदेशी फूलको प्रवद्र्धन र नर्सरी व्यवसायको विकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवद्र्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिनुभयो । तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना हुनु सान्दर्भिक रहेको उहाँको भनाई छ ।
२३. एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेकपा (एमाले)सहित सबै वामपन्थी शक्तिहरुलाई एकताको लागि आह्वान गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गर्नुभएको हो । उहाँले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले विगतमा विभिन्न कोणबाट एकता र सहकार्य गर्दा भोगेका उतारचढावहरूको आत्मसमीक्षा गर्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति फेरि एक पटक एकतावद्ध हुन जरुरी रहेको बताउनु भयो । हिजो माओवादी र एमालेका विभिन्न धारमा रहेका नेता कार्यकर्ताहरुलाई जोड्ने जिम्मेवारी समेत आफूहरुकै काँधमा रहेको उहाँको भनाइ छ ।
२४. एमालेका असन्तुष्ट नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गर्नुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गर्नुभएको हो । उहाँले नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता कार्यकर्ताहरुलाई विद्रोह गरेर नेकपासँगको एकता प्रक्रियामा सहभागि हुन आग्रह गर्नुभयो । उहाँले अहिले मुलुकमा रहेका विद्यमान समस्याको समाधानका लागि कम्युनिष्ट शक्तिहरु एकतावद्ध हुन आवश्यक रहेको भन्दै विभिन्न कम्युनिस्ट घटकमा रहेका नेता तथा कार्यकर्तालाई एकतामा आउन पनि आग्रह गर्नुभयो । उहाँले मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका कम्युनिस्ट घटकहरुलाई समेत समाजवाद निर्माणको निम्ति एकतामा आउन आह्वान गर्नुभयो ।
२५. दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिसः एडिबीबाट प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार
सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायतका केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले एशियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र २० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
२६. देशमा जनतालाई चिमोट्ने र सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति बढ्योः प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अहिले देशमा विवेक, विचार र सिद्धान्तभन्दा आवेग, पूर्वाग्रह तथा निरङ्कुश प्रवृत्ति बढ्दै गएको भन्दै सरकारको आलोचना गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो आलोचना गर्नुभएको हो । जनतालाई चिमोट्ने, भुत्त्याउने, सबैलाई आतङ्कित पार्ने विवेकहीन प्रवृत्ति मुलुकमा हाबी रहेको उहाँको भनाइ छ । उहाँले देशको यही आवश्यकतालाई मध्यनजर गर्दै विवेक, विचार, सिद्धान्त र जनताको देशभक्तिपूर्ण आन्दोलनका पक्षधरहरु एकचोटी फेरि एकतावद्ध हुन जरुरी रहेको बताउनु भयो । उहाँले मुलुकलाई सही दिशामा अगाडि बढाउन एकचोटी फेरि नेपाली कम्युनिष्ट पार्टी तयार रहेको जिकिर पनि गर्नुभयो । उहाँले विभिन्न ठाउँमा पुग्दा आफूहरूमाथि आलोचना र विरोध हुने गरेको स्वीकार गर्दै विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । आफ्ना कमजोरीबारे खुलेर बोल्न र आत्मसमीक्षा गर्न डराउन नहुने उहाँको भनाइ छ ।
२७. नेपालको व्यवहार र परराष्ट्र नीतिले छिमेकी राष्ट्रहरू झस्किने अवस्था आउन दिनु हुँदैनः प्रदीप ज्ञवाली
नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । काठमाडौंमा आयोजित सेमिनारमा बोल्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले नेपालको भौगोलिक अवस्थिति र ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राख्दै कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आवद्ध नभई असंलग्नता र पञ्चशीलको सिद्धान्तअनुसार नै परराष्ट्र सम्बन्ध सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले गौतम बुद्धको मध्यम मार्गले समेत नेपालको परराष्ट्र नीतिमा प्रभाव पारेको उल्लेख गर्दै कुनै पनि अतिवादी धारमा नलागी सबैसँग सन्तुलित सम्बन्ध कायम गर्ने दिशामा अगाडि बढ्नुपर्ने बताउनु भयो । छिमेकी मुलुकहरूसँगको सम्बन्धमा अविश्वास बढ्ने खालका गतिविधि र परराष्ट्र नीति अवलम्बन गर्न नहुने उहाँको भनाइ छ । नेता ज्ञवालीले नेपालप्रति छिमेकी मुलुकहरूको विश्वास कमजोर भए शक्ति राष्ट्रहरूले आफ्नो स्वार्थअनुसार चलखेल गर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभयो ।
२८. भारतविरोधी राष्ट्रवादको युग अन्त्य भयो भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति नारायणकाजी श्रेष्ठको आपत्ति
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । काठमाडौंमा आयोजित एक सेमिनारमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले सरकारको नेतृत्व गरिरहेकाहरुले कुनै दिन चीन गएर चीनसँगको सुमधुर सम्बन्ध राष्ट्रवादको एक आधार हो भन्ने युगको अन्त्य भयो भन्ने हुन् कि भन्ने डर लागिरेहको टिप्पणी गर्नुभयो । उहाँले नेपालले चीन र भारत दुवै छिमेकी मुलुकसँग समान र सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक सुशासनबिना राज्य र समाजमा सुशासन कायम गर्न नसकिने समेत उल्लेख गर्नुभयो ।
२९. रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा, महामारीको जोखिम नरहेको स्वास्थ्य विभागको दाबी
स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनैपनि महामारी नदेखिएको जनाएको छ । मंगलवार सिंहदरबारमा राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले यस्तो जानकारी दिनुभएको हो । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेकाले महामारीको अवस्था नरहेको उहाँले बताउनु भयो । उहाँकाअनुसार हाल १४ वटाहोल्डिङ सेन्टरमार्फत २१ हजार ३ सय ९१ जनालाई स्वास्थ्य सेवा प्रदान भइरहेको छ । त्यस्तै, ९ हजार ५ सय ६४ जनालाई फिल्डमै आकस्मिक चिकित्सा टोली तथा स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान भइरहेको निमित्त महानिर्देशक पौडेलले बताउनु भयो । उहाँले हालसम्म रसुवाको बाढी प्रभावित ९ हजार ३ सय ६८ जनाले मानसिक स्वास्थ्य परामर्श सेवा गरेको बताउनु भयो ।
३०. राष्ट्रिय स्वाधीनताको संरक्षण र वर्तमान संकटको सामना गर्न कम्युनिस्टहरू शक्तिहरु प्रचण्ड– माधवको नेतृत्वमा गोलबन्द हुन जरुरीः उमा भुजेल
नेपाल कम्युनिष्ट पार्टीकी महासचिव उमा भुजेलले मुलुकको राजनीतिक उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण र वर्तमान संकटको सामना गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा कम्युनिस्ट शक्तिहरू गोलबन्द हुन जरुरी रहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले मुलुकमा जनयुद्ध र पटक पटकका जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने प्रयास भइरहेको भइरहेको बताउनु भयो । उहाँले मुलुकको लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागिका कम्युनिस्ट शक्तिहरु, देशभक्त तथा लोकतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा उहाँको जोड छ । उहाँले अमेरिकी सेनाले नेपालमा क्याम्प राख्ने अवस्था आउन सक्ने र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) कुनै न कुनै रूपमा कार्यान्वयन हुन सक्ने आशंकासमेत व्यक्त गर्नुभयो ।
३१. नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने अनुमान
नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने र त्यसको १२ वर्षपछि अर्थात् सन् २०५९ मा नेपाल वृद्ध समाजमा प्रवेश गर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकले ‘डेमोग्राफिक चेन्ज इन साउथ एशियाः फ्रम टेलविन्ड्स टु हेडविन्ड्स फर डेभलपमेन्ट’ प्रतिवेदनमार्फत नेपालसहित दक्षिण एशियाली मुलुकले जनसांख्यिकीय परिवर्तनबाट प्राप्त अवसर उपयोग गर्न र वृद्ध जनसंख्याको व्यवस्थापनका लागि समयमै तयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । काम गर्ने उमेरको जनसंख्याबाट आर्थिक लाभ लिने समय सिमित रहेकाले रोजगारी सिर्जना, सीप विकास र सामाजिक सुरक्षा विस्तारमा अहिले नै ध्यान दिन विश्व बैंकले भनेको छ । नेपालसँग अन्य दक्षिण एसियाली मुलुकको तुलनामा तयारीका लागि केही बढी समय भए पनि संरचनागत चुनौती भने गम्भीर रहेको प्रतिवेदनमा उल्लेख छ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा विप्रेषणको योगदान करिव २५ प्रतिशत छ ।
३२. पत्रकारमाथि भएको धरपकडबारे सरकार–सरकारको अुनमति थिएन, भ्रामिक र संवेदनशील सूचनाहरु चुहावटबारे बुझ्न प्रहरीले गरेको हो
सरकारले पत्रकारहरुमाथि भएको धरपकडमा सरकारको कुनै संलग्नता नभएको स्पष्ट पारेको छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो प्रष्टिकरण दिनुभएको हो । उहाँले भ्रामिक र संवेदनशील सूचनाहरु चुहावट भएको विषयमा बुझ्न प्रहरीले उक्त कार्य गरेको सरकारको बुझाइ रहेको बताउनु भयो । उहाँले पत्रकारहरुमाथि धरपकड गर्न प्रहरीले सरकारसँग कुनै अनुमति नलिएको र सरकारले कुनैपनि प्रकारको निर्देशन समेत नदिएको स्पष्ट पार्नुभयो । उहाँले पत्रकारहरु पक्राउ परेको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री बालेन्द्र साहले सबै पत्रकारहरुलाई तुरुन्त रिहा गर्न निर्देशन दिएको समेत प्रवक्ता पोखरेलले बताउनु भयो ।
३४. लुम्बिनी लायन्स शिर्षमा
उत्कृष्ट बलिङ प्रेरित लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरमा मंगलवार भएको दोस्रो खेलमा उत्कृष्ट बलिङप्रेरित लुम्बिनीले पोखरा एभेन्जर्समाथि आठ विकेटको फराकिलो जितसँगै एनपिएलको शिर्ष स्थानमा उक्लिएको छ । यससँगै लुम्बिनी जारी एनपिएलमा लगातार तीन खेलसम्म अपराजित एक मात्र टोली बन्यो । यसअघि लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएको थियो । दोस्रो खेल चितवन राइनोजसँग अंक बाँडेको थियो । पोखराको भने लगातार तेस्रो हार हो । जारी एनपिएलमा जितविहीन एक मात्र टोली पनि पोखरा नै रह्यो । डिफेन्डिङ च्याम्यिन लुम्बिनीले प्लेअफको दाबेदारी दिएको छ । लुम्बिनीको जितमा बलरले उत्कृष्ट प्रदर्शन गरे । त्रिवि क्रिकेट मैदानमा पोखराले ९८ रनको झिनो लक्ष्य दियो ।न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij