२०८३ कार्तिक १२ गते बिहिवार
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् ।
गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार पक्राउ पर्नेमा तीनजना ब्राजिलका, दुईजना क्यानडाका र पाँचजना अमेरिकी नागरिक रहेका छन् ।
“मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिषामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दशजना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ,” गृहमन्त्रीको सचिवालयले बुधबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिषामा आएका विदेशी नागरिक संलग्न भएकोले विदेशी नागरिक अनुगमन जिल्ला समितको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि विभाग पठाइएको जनाइएको छ ।
गत कार्तिक ८ गते देखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए । शिविरको तयारी पास्टर पावेल दंगालले गरेका थिए ।
“स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यस अघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएका थिए,” गृहमन्त्रीको सचिवालयले भनेको छ ।
मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा ६ वटा साना–ठूला भवन निर्माण गरेका थिए । सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेपछि विवाद सुरु भएको थियो ।
विवाद सुरु भएपछि स्थानीयलाई खुसी पार्न किराना व्यवसायी नवराज श्रेष्ठले शिविरको आयोजना गरेको प्रेस नोटमा उल्लेख छ । “हाल उक्त स्थानमा दुईजना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ,” गृहमन्त्रीको सचिवालयले भनेको छ ।
पक्राउ परेका विदेशीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेका थिए । उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको देखिन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij