२०८३ कार्तिक १२ गते बिहिवार
१. स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ नहुने बताउनुभएको छ । बुधवार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । घिसिङले आफ्नो पार्टीले उठाएका मुद्दा कार्यान्वयन भए स्थानीय तहको निर्वाचनमा दलको चुनाव चिह्नभन्दा स्वतन्त्र उम्मेदवारलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
२. सलिको गल्फ प्रतियोगिता शनिवार
सलिको गल्फ प्रतियोगिता आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुने भएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को आयोजनामा हुने एकदिने प्रतियोगितामा करिव एक सय एमेच्योर गल्फरले प्रतिष्पर्धा गर्ने भएका छन् । आयोजक सलिकोले त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा बुधवार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिए । नेपाली कर्पोरेट क्षेत्रका खेलाडीको सहभागिता रहने गोकर्ण गल्फ कोर्षको डाइरेक्टर दीपक आचार्यले बताए । प्रतियोगिता कुल १८ होलको पार ७२ कोर्समा हुनेछ । प्रतियोगिताको पार थ्री को दशौं होलमा होल इन वान गर्ने पहिलो खेलाडीले टाटा नेक्सन गाडी प्राप्त गर्ने कोर्ष डाइरेक्टर आचार्यले बताए ।
३. विपद्बाट भएको क्षतिको पुनःस्थापनाका लागि ५७ मिलियन डलर तत्काल आवश्यक
रसुवा–भोटेकोशी विपद्बाट भएको क्षतिको प्रारम्भिक अनुमानअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको छ ।
तर प्रारम्भिक पुनःस्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालले गैरआर्थिक क्षतिको मूल्याङ्कन गर्दा आवश्यक रकम प्रारम्भिक अनुमानभन्दा अझ बढी हुन सक्ने बताउनु भयो । बुधवार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उहाँले गैरआर्थिक क्षतिसहितको आधिकारिक विवरण पछि सार्वजनिक गरिने जानकारी दिनुभयो ।
४. विपद्बाट कृषि, पशुपंक्षी, जलचर र जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन हुँदै
सरकारले विपद्बाट कृषि, पशुपंक्षी, जलचर, खेतीयोग्य जमिन तथा जैविक विविधतामा भएको क्षतिको मूल्याङ्कन गरिरहेको जनाएको छ । कृषि तथा वन क्षेत्रको क्षतिको यकिन विवरण तयार गर्न विभिन्न सूचकका आधारमा अध्ययन भइरहेको सरकारले जनाएको हो । कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले विपद्बाट भएको क्षतिको मूल्याङ्कनलाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेर काम भइरहेको जानकारी दिनुभयो । बुधवार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उहाँले लगाइएको बालीमा भएको क्षति, त्यसको मूल्य, विगतको उत्पादकत्व र चालु वर्षको बजार मूल्यका आधारमा कृषि उपजको क्षति गणना गरिने बताउनुभ यो ।
५. भोटेकोशी–कालीगण्डकी बाढी प्रभावित ४९ वडाको क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन संसदीय समितिको निर्देशन
भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद्बाट प्रभावित ४९ वटै वडाको छुट्टाछुट्टै क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन सरकारसँग माग गरेको छ । समितिका सभापति कृष्णप्रसाद पौडेलले प्रभावित प्रत्येक वडामा मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रमा भएको क्षति र राहत वितरणको वास्तविक विवरण उपलब्ध कृषि, वन तथा पर्यावरण मन्त्रालयलाई निर्देशन दिनुभएको हो । समितिले बुधवार सिंहदरबारमा गरेको छलफलका क्रममा सभापति पौडेलले स्थलगत निरीक्षणमा जानुअघि नै ४९ वटै वडाको क्षति तथा नोक्शानीसम्बन्धी तथ्याङ्क आवश्यक रहेको बताउनु भयो ।
६. पोखराका ग्रामीण बस्तीमा होमस्टेको आकर्षणः पर्यटकको चहलपहलले ब्युँझियो ग्रामीण अर्थतन्त्र
पर्यटकीय सिजन शुरु भएसँगै पोखरा आसपासका ग्रामीण बस्तीमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । शहरको कोलाहलभन्दा टाढा प्रकृतिसँग रमाउन चाहने पर्यटकको रोजाइमा गाउँका होमस्टे पर्न थालेका छन् । सस्तो प्याकेज, स्थानीय खानपान, मौलिक संस्कृति र हिमशृङ्खलाको मनमोहक दृश्यले पर्यटकलाई गाउँतर्फ आकर्षित गरेको हो । दशैँ सकिएलगत्तै कास्कीका विभिन्न ग्रामीण बस्तीमा पर्यटकको आगमन बढ्दा होमस्टे सञ्चालकहरू उत्साहित भएका छन् । पोखरा महानगर आसपासका डाँडाकाँडामा रहेका होमस्टेमा स्वदेशी तथा विदेशी पाहुनाको उपस्थिति बढ्दै गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ स्थित हेम्जाकोटमा पनि यतिबेला पर्यटकको चहलपहल बढेको छ ।
७. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा मनोनित केन्द्रिय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले आन्दोलनबाट भाग्न खोजे र आन्दोलन नगरे देशको रक्षा गर्न नसकिने दाबी गर्नुभयो । अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरु लोकतन्त्र, शान्ति भनेर चिच्याउने तर नेपालीलाई धोका दिइरहेको आरोप लगाउनु भयो । सरकार बलजफ्ती अघि बढिरहेको उहाँको भनाइ छ । नेपाल प्रहरी बर्दी बिना पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । आवारा शैलीमा प्रहरी अघि बढ्नु राम्रो नभएको उहाँको तर्क छ ।
८. कोप–३१ अघि नेपाली नागरिक समाजको खबरदारीः हिमाल बचाउन र जलवायु न्यायका लागि विश्व समुदायसँग ठोस प्रतिवद्धताको माग
नेपालको नागरिक समाजले हिमाल र हिमाली समुदायको अस्तित्व रक्षाका लागि ठोस कदम चाल्न विश्व समुदायसँग माग गरेको छ । आगामी नोभेम्बर २०२६ मा टर्कीको अन्ताल्यामा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) अघि काठमाडौंमा नागरिक समाजको तर्फबाट सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउँदै विश्व समुदायसँग यस्तो माग गरेको हो । रसुवा–भोटेकोशी विपद्जस्ता पछिल्ला घटनाहरूले हिमाली क्षेत्र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको पुष्टि गर्दै नागरिक समाजले जलवायु न्याय, ऐतिहासिक जिम्मेवारी र क्षतिपूर्तिको मुद्दालाई सम्मेलनको केन्द्रमा राख्न आह्वान गरेको छ ।
९.कात्तिक १३ देखि प्रथम सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप
चितवनमा पहिलोपल्ट हुन लागेको अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप कात्तिक १३ गतेदेखि आयोजना हुने भएको छ । चितवन तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२६ यसै कात्तिक १३ देखि १५ गतेसम्म हुने भएको हो । चितवनमा पहिलोपल्ट यति ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको चितवन तेक्वान्दो डोजाङका प्रमुख रोशन खानले जानकारी दिए । चितवनस्थित राप्ती नगरपालिकाको भण्डारामा आयोजकले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । नेपालका सातवटै प्रदेशसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया र जापानलगायतका करिब आठ सय खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काले जानकारी दिए ।
१०. ‘विपद्को दुई महिना बित्दा पनि कृषि क्षतिको तथ्याङ्क आएन’
भोटेकोशी र कालीगण्डकी करिडोरमा विपद् आएको एकदेखि दुई महिना बितिसक्दा पनि कृषि, पशुपंक्षी तथा वातावरणीय क्षतिको प्रारम्भिक तथ्याङ्क सार्वजनिक हुन नसकेको भन्दै सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सांसदहरूले क्षतिग्रस्त खेतीयोग्य जमिन, नष्ट भएका बाली तथा पशुचौपायाको विवरण तत्काल संकलन गरी सार्वजनिक गर्न माग गरेका हुन् । उनीहरूले कृषि उत्पादनमा आएको कमीले खाद्यान्न तथा मासु आपूर्ति, सम्भावित आयात र समग्र अर्थतन्त्रमा पार्ने प्रभावसमेत अध्ययन गरी क्षतिको सूक्ष्म र आधिकारिक तथ्याङ्कसहित प्रतिवेदन तयार गर्नुपर्नेमा जोड दिएका छन् ।
११. इजिप्ट र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय घटनाक्रम र तनाव कम गर्ने प्रयासबारे छलफल
इजिप्ट र इरानका विदेशमन्त्रीबीच क्षेत्रीय घटनाक्रम तथा बढ्दो तनाव कम गर्ने प्रयासबारे टेलिफोन वार्ता भएको छ । इजिप्टको विदेश मन्त्रालयकाअनुसार विदेशमन्त्री बद्र अब्देलाट्टी र इरानी विदेशमन्त्री सैयद अब्बास अराघ्चीबीच मंगलवार टेलिफोन वार्ता भएको हो । वार्ताका क्रममा पछिल्लो क्षेत्रीय घटनाक्रमलाई सम्बोधन गर्ने सम्भावित उपायबारे छलफल भएको थियो । विदेशमन्त्री अब्देलाट्टीले क्षेत्रीय तनाव बढ्दै गएको अवस्थामा त्यसलाई कम गर्न सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । यसअघि सोमबार इरान, साउदी अरब, पाकिस्तान र टर्कीका उच्च अधिकारीहरू तेहरानमा भेला भएका थिए । उनीहरूले क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवद्र्धनका लागि सहकार्य सुदृढ गर्न वार्तालाई निरन्तरता दिने सहमति गरेका थिए ।
१२. को हुन् ब्राजिलका नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा ?
ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आईतवार भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा पुनरागमनसहित जित हासिल गर्नुभयो । पहिलो चरणमा अग्रता लिएका लिबरल पार्टीका उम्मेदवार फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै लुलाले चौथोपटक राष्ट्रपतिको कार्यकाल सम्हाल्ने अवसर प्राप्त गर्नुभयो । सन् १९४५ अक्टोबरमा ब्राजिलको उत्तरपूर्वी क्षेत्रमा जन्मिएका लुला गरिब ग्रामीण परिवारका सातौँ सन्तान हुनुहुन्छ ।
१३. चीनको गुइझोउमा केरा खेतीमा प्रविधिः ड्रोनको प्रयोगले बढायो उत्पादकत्व
दक्षिण–पश्चिम चीनको गुइझोउ प्रान्तमा केरा खेती गर्ने किसानका लागि पछिल्लो समय ड्रोन प्रविधि वरदान सावित भएको छ । दुर्गम पहाडी भेगमा अवस्थित गुइझोउका मुख्य केरा उत्पादन क्षेत्रहरूमा परम्परागत रूपमा हातैले केरा ओसारपसार गर्दा हुने ढिलाइ र कष्टलाई कम गर्न ड्रोनको व्यापक प्रयोग शुरु गरिएको छ । चीनको सेहेङ काउन्टीस्थित यान्जिया टाउनमा गरिएको यो प्रविधिको प्रयोगले कृषि क्षेत्रमा आधुनिक औद्योगिकीकरणको नयाँ ढोका खोलेको छ । एकपटकमा १०० किलोग्रामसम्म केरा बोक्न सक्ने क्षमता भएको ड्रोनले निकै कम समयमा उत्पादनलाई बजार वा संकलन केन्द्रसम्म पुर्याउन मद्दत गरिरहेको छ । प्राप्त तथ्यांकअनुसार यस्तो एक ड्रोनले एकतर्फी यात्राका लागि जम्मा दुईदेखि तीन मिनेटको समय मात्र लगाउँछ ।
१४. चीन–पाकिस्तान सम्बन्धलाई थप उचाइमा पु¥याउन ‘इन्फर्मेसन करिडोर’ को शुरुवात
इस्लामाबादमा सोमवार आयोजित एक विशेष समारोहका बीच चीन र पाकिस्तानले ‘चीन–पाकिस्तान इन्फर्मेसन करिडोर’को औपचारिक शुरुवात गरेका छन् । दुई देशबीचको सञ्चार, तथ्य–जाँच (फ्याक्ट–चेकिङ), अनुसन्धान तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले शुरु गरिएको यो पहलले आर्थिक सहकार्यलाई जनस्तरसम्म विस्तार गर्ने लक्ष्य लिएको छ । पाकिस्तानका सूचना तथा प्रशारण मन्त्री अत्ताउल्लाह तरार, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता तथा प्रेस, सञ्चार र सार्वजनिक कूटनीति विभागका महानिर्देशक माओ निङ र पाकिस्तानका लागि चिनियाँ राजदुत जियाङ जाइदङले संयुक्त रूपमा उद्घाटन गरेको सो कार्यक्रममा ६०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
१५. जोर्डनद्वारा दक्षिणी सिरियामा हवाई आक्रमण, चर्च आक्रमणमा संलग्न लडाकुहरूलाई निशाना बनाएको दाबी
जोर्डनले दक्षिणी सिरियामा सोमवार हवाई आक्रमण गरेको छ । जोर्डनको सशस्त्र बलका अनुसार दक्षिणी जोर्डनको कराक प्रान्तस्थित चर्चमा भएको घातक आक्रमणमा संलग्न लडाकु समूहका अखडालाई लक्षित गरी आक्रमण गरिएको हो ।जोर्डनको सशस्त्र बलले शुक्रवार चर्चमा भएको आक्रमणको जवाफस्वरूप हवाई कारबाही गरिएको जनाएको छ । उक्त कारबाही सिरियाली अधिकारीहरूसँग समन्वय गरेर सञ्चालन गरिएको जोर्डनी सेनाको दाबी छ ।
१६. ठगी र वित्तीय अपराधको अनुसन्धान हङकङ प्रहरीको प्राथमिकतामा
हङकङ प्रहरीले सीमापार हुने अपराधको स्वरूप तिब्र रूपमा परिवर्तन भइरहेकाले ठगी तथा वित्तीय अपराधसम्बन्धी अनुसन्धानलाई प्राथमिकतामा राखेको जनाएको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारका प्रहरी आयुक्त चाउ याट–मिङले सिन्ह्वासँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । हङकङमा इन्टरपोलको ९४औँ महासभा आयोजना हुन लागेको सन्दर्भमा उनले सम्मेलनलाई विभिन्न देश तथा क्षेत्रका सुरक्षा निकायसँग सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा उपयोग गरिने बताए । सम्मेलनका क्रममा द्विपक्षीय बैठक, सूचनाको आदानप्रदान तथा अनुसन्धान क्षमता अभिवृद्धिसम्बन्धी सहकार्यलाई अघि बढाइने उनको भनाइ छ ।
१७. बौद्ध वर्षावास समापन र डुङ्गा दौड महोत्सवले लाओसमा रौनक
बौद्ध वर्षावास समापन तथा परम्परागत डुङ्गा दौड महोत्सवका अवसरमा लाओसका नदी किनारहरू झिलिमिली बत्ती, मानिसहरूको चहलपहल र उत्सवमय वातावरणले भरिएका छन् । धार्मिक परम्परा, सामुदायिक एकता र सांस्कृतिक उत्सवको सङ्गमका रूपमा मनाइने यस पर्वमा स्थानीय बासिन्दा तथा पर्यटक सहभागी भएका छन् । यस वर्ष अक्टोबर २६ मा परेको बौद्ध वर्षावास समापनका अवसरमा बिहानैदेखि धार्मिक गतिविधि शुरु भएका थिए । मानिसहरू पुण्य कमाउने उद्देश्यले मन्दिर पुग्ने, भिक्षुहरूलाई भिक्षादान गर्ने तथा भोजन अर्पण गर्ने गर्छन् । साँझपख नदी किनारमा मानिसहरूको भीड लाग्ने गर्छ । उनीहरूले फूल, मैनबत्ती र धूपले सजाइएका केराका पातबाट बनेका साना डुङ्गाहरू नदीमा प्रवाहित गर्छन् ।
१८. शान्ति प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता अनिवार्यः संयुक्त राष्ट्रसंघ महासचिव गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका शान्ति प्रक्रियाहरूमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिनुभएको छ । २६ वर्षअघि पारित सुरक्षा परिषद्को प्रश्ताव १३२५ को मर्मलाई व्यवहारमा उतार्न नसकिएको भन्दै उहाँले शान्ति वार्ता, बजेट विनियोजन र नीति निर्माणको हरेक तहमा महिलाको उपस्थिति अपरिहार्य रहेको बताउनुभएको छ । महासचिव गुटेरेसले मंगलवार एक सम्बोधनमार्फत शान्ति र सुरक्षा एजेण्डालाई अघि बढाउन तीनवटा मुख्य क्षेत्रमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।
१९. १७८ दिनदेखि पशुपति क्षेत्र विकास कोषको गेटअगाडि तिलगंगावासीको धर्ना
तिलगंगा क्षेत्र (ब्लक बी–१३) का स्थानीयले १७८ दिनदेखि पशुपति क्षेत्र विकास कोषको गेटअगाडि धर्ना दिईरहेका छन् । पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा आफूहरुलाई अन्याय भएको भन्दै उनीहरुले कोष अगाडी धर्ना दिएका हुन् । सरकारले आफुहरुलाई सुकुम्बासीको व्यवहार गरेर रातरात घरटहरा भत्काएर अन्याय गरेको उनीहरुको आरोप छ । गत वैशाख १८ र १९ गते सरकारले वागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउने क्रममा तिलगंगा क्षेत्रका बस्तीका घरटहरा पनि भत्काएको थियो । सो पश्चात स्थानीयले गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेटअगाडि धर्नामा दिँदै आएका छन् । आफूहरू सुकुम्बासी नभई लालपुर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र तथा कर तिरेका कागजातसहित बसोबास गरिरहेका नागरिक भएको उनीहरूको दाबी छ । स्थानीय सुदर्शन गौतमले सरकारले आफूहरूलाई अन्याय गरेको आरोप लगाउनुभयो ।
२०. कोप–३१ को तयारीका लागि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गर्दैछौँः मन्त्री चौधरी
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)को तयारीको लागि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गर्न लागिएको बताउनुभएको छ ।
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले कोप–३१ का लागि बिहीवार सम्मेलन गर्न लागिएको जानकारी दिनुभएको हो । सम्मेलनमा संसदीय समितिका सभापति, सांसद, विज्ञ तथा सम्बधित सरोकारावालहरुको सहभागिता रहनेछ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा प्राप्त सुझाव तथा सामाग्रीलाई कोपमा प्रश्तुत गर्ने उहाँको भनाई छ ।
२१. कोप–३१ मा हिमाली तापक्रम वृद्धि, जलवायु वित्त र क्षतिपूर्तिलाई प्राथमिकता दिने नेपालको तयारी
नेपालले हिमाली क्षेत्रमा बढ्दो तापक्रम, जलवायुजन्य विपद्बाट हुने क्षति तथा अनुकूलनका लागि पर्याप्त वित्तीय स्रोत सुनिश्चित गर्ने विषयलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा प्रमुख प्राथमिकताका रूपमा उठाउने भएको छ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा भएको कोप तयारी सम्बन्धी छलफलमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले नेपालले मुख्यगरि तीन वटा विषयमा फोकस भएर आफ्ना एजेण्डा प्रस्तुत गर्ने जानकारी दिनुभएको हो । उहाँले जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी हिमाली क्षेत्रमा समुदाय प्रभावित भएको बताउनु भयो ।
२२. नयाँ जलवायु नीति तयार गर्दैछौँः सहसचिव ढकाल
कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले नयाँ जलवायु नीति निर्माण गर्न लागेको बताउनुभएको छ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उहाँले नीतिलाई छिट्टै अन्तिम रुप दिने जानकारी दिनुभएको हो । बदलिँदो जलवायु परिस्थितिलाई सम्बोधन गर्न नयाँ राष्ट्रिय जलवायु नीति तयार गरेको उहाँले बताउनु भयो । स्थानीय तथा प्रदेश सरकार र सरोकारवाला निकायसँग परामर्शपछि नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको र आवश्यक पुनरावलोकनपछि मन्त्रिपरिषद्मा पेस गर्ने तयारी रहेको उहाँले बताउनु भयो ।
२३. रक्तघटकको मौज्दात सकिएसँगै रेडक्रसद्वारा रक्तदान गर्न आह्वान, कामनपा र नगरवासी सक्रिय
असन सेवा समितिले बुधवार असन टोल र सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा काठमाडौं महानगरपालिकाको विशेष सहकार्यमा कार्यक्रम आयोजना गरिएको समितिले जनाएको हो । ‘रक्तदान जीवनदान’ भन्ने भावनाका साथ आयोजित कार्यक्रममा असनका स्थानीय बासिन्दाले रक्तदान गरेका छन् । कार्यक्रममा रक्तदान गर्ने सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको छ । यसैबीच, नेपाल रेडक्रस सोसाइटीले अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएको र रक्तसञ्चार केन्द्रमा मौज्दात घटेपछि सर्वसाधारणलाई रक्तदान गर्न विशेष आग्रह गरेको छ ।
२४. एमाले नेता पोखरेलाको प्रश्नः रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ?
पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता आनन्द पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । अर्थमन्त्री वाग्लेले नेपालको सार्वभौमिकता र अखण्डतालाई गुमराहमा राख्ने दुष्प्रयास गरेको उहाँको आरोप छ । केही दिन अघि अर्थमन्त्री वाग्लेले भारतमा आयोजित एक सार्वजनिक टेलिभिजन कार्यक्रममा बोल्दै ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै अभिव्यक्ति दिनुभएको थियो । पोखरेलले अर्थमन्त्री वाग्लेको उक्त आत्मसर्पणवादी चिन्तन मुलुकको हितकर हुन नसक्ने टिप्पणी गर्नुभयो ।
२५. काठमाडौं महानगरद्वारा ४३ महिनामा १ लाख ६०६ जनालाई निःशुल्क कानूनी सेवा प्रदान
काठमाडौं महानगरपालिकाले ४३ महिनाको अवधिमा १ लाख ६०६ जनालाई निःशुल्क कानुनी सेवा प्रदान गरेको जनाएको छ । बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले २०७० चैत २ गतेदेखि शुरु गरिएको निःशुल्क कानूनी सेवा लिनेको संख्या १ लाख ६०६ पुगेको जानकारी दिनुभएको हो । उहाँकाअनुसार आर्थिक अवस्था कमजोर भएका तथा न्यायमा पहुँच पु¥याउन कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी महानगरपालिकाले उक्त सेवा सञ्चालनमा ल्याएको थियो । उहाँले कानूनी परामर्श लिनसमेत शुल्क तिर्नुपर्ने र आर्थिक अभावका कारण न्याय प्राप्त गर्न कठिन हुने नागरिकको गुनासोलाई सम्बोधन गर्न महानगरले उक्त सेवा शुरु गरेको जानकारी दिनुभयो ।
२६. गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आसन्न स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गराउन र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बुधवार आयोगलाई ज्ञापन पत्र बुझाउँदै उज्यालो नेपाल पार्टीले यस्तो माग गरेको हो । ज्ञापन पत्र बुझाउँदै अध्यक्ष घिसिङले स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर जनताको प्रत्यक्ष सेवा, सुशासन र विकासको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहको नेतृत्व चयनमा योग्यता, इमान्दारीता र कार्यसम्पादनलाई प्राथमिकता दिन गैरदलीय निर्वाचन प्रणाली आवश्यक रहेको बताउनु भयो ।
२७. निर्वाचनमा बदर मत घटाउन र सदर मत बढाउन सक्रिय भुमिका खेल्न दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह
प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा बदर मत घटाउन तथा धेरैभन्दा धेरै नागरिकलाई मतदान प्रक्रियामा सहभागि गराउन सक्रिय भुमिका खेल्न दलहरुलाई आग्रह गर्नुभएको छ ।
बुधवार निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टीले बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले लोकतन्त्रको सुन्दरता नै धेरैभन्दा धेरै नागरिक निर्वाचनमा सहभागी हुनु रहेको बताउँदै मतदान प्रतिशत बढाउन निर्वाचनसम्बन्धी सचेतना र सहभागिता अभिवृद्धिमा जोड दिनुभयो । निर्वाचनमा नागरिकको सहभागिता बढाउन राज्यका सम्बन्धित निकाय, राजनीतिक दल र सरोकारवाला पक्षले आ–आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ ।
२८. रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताउनुभएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सबै सांसदका गतिविधि व्यक्ति विशेषको नियन्त्रणमा नरहेको स्पष्ट पार्नुभएको हो । प्रत्येक सांसद आ–आफ्नो क्षमता, विवेक र बलबुताका आधारमा अघि बढिरहेको उहाँको भनाइ छ । सत्तारुढ दलका सांसदहरुले नै सरकारको आलोचना गरेको विषयप्रति उहाँले सरकारलाई सुझाव दिनु तथा भएका कमजोरी सुधार्न दबाब दिनु सरकार ढाल्ने प्रयासका रुपमा बुझ्न नहुने उहाँको भनाइ छ । उहाँले मुलुकको विकास हेर्ने चाहना राख्ने दलहरुले सरकार ढाल्ने गतिविधिमा लाग्नुभन्दा सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
२९. न्युरोडका व्यवसायी भन्छन्ः चाडपर्वमा पनि व्यापार भएन, अब टाउको उठाउने कसरी ?
दशैँ–तिहारलाई वर्षभरिकै कारोबार मिलाउने मुख्य अवसरका रूपमा लिने न्यूरोडका व्यवसायी यस वर्ष चाडपर्वमा समेत व्यापार नभएपछि चिन्तित छन् । विगतमा दशैँ–तिहारको एक–डेढ महिनाको व्यापारबाट छ महिनासम्मको आर्थिक व्ययभार धान्ने गरेकामा व्यवसायीहरुका अनुसार यसवर्ष व्यापार नै भएन । जसकारण यसपटक बैंकको ब्याज, घरभाडा, कर्मचारीको तलब र उधारो कारोबार मिलाउन समस्या पर्नेछ । व्यवसायीहरूकाअनुसार कोरोना महामारीपछि निरन्तर खस्किँदै गएको व्यापारमा सुधार आउन नसक्दा उनीहरू चार–पाँच वर्षदेखि आर्थिक दबाबमा छन् । चाडपर्वमा हुने कारोबारले नियमित आर्थिक दायित्व व्यवस्थापन गर्नसमेत नसकिने अवस्था बनेपछि अब व्यवसायलाई कसरी निरन्तरता दिने भन्ने चिन्ता बढेको छ । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij