२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा स्याङ्जाका तीन कर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तत्कालीन प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेश विक र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं रहेका छन्। उनीहरूलाई प्रहरीले कात्तिक १६ गते नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले घटनाको छानबिन गरी गत भदौ २६ गते नै अनुसन्धान तथा कारबाहीका लागि प्रहरीमा पत्र पठाएको थियो। तर, करिब दुई महिनापछि मात्रै उनीहरू पक्राउ परेका हुन्।
प्रहरीका अनुसार नेपाल सरकार वादी र प्रयासी गुरुङसमेत प्रतिवादी रहेको लिखतसम्बन्धी कसुर मुद्दामा उनीहरूलाई पक्राउ गरिएको हो। स्याङ्जा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएका तीनै जनामाथि अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रशासनको छानबिनअनुसार प्रयासी गुरुङको नाममा दुईवटा नागरिकता रहेको विषयमा अनुसन्धान गर्दा सरकारी अभिलेखमा अनधिकृत हेरफेर भएको खुलेको थियो।
यस प्रकरणमा प्रहरीले अनुसन्धान अघि बढाउन ढिलाइ गरेको भन्दै असोज २२ गते हेलो सरकारमा उजुरीपछि गृह मन्त्रालयले असोज २८ गते आवश्यक कारबाहीका लागि पत्र पठाएको थियो। प्रशासनले कात्तिक ९ गते पुनः ताकेता गरेपछि एक सातापछि तीन कर्मचारी पक्राउ परेका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij