२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौ । जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।
आज बिहान कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो ।
आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन् । घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा थप उपचारका लागि दुई जनालाई भारतको लखनउ रिफर गरिएको छ ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्द, बाँकेबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर के.सी.को कमान्डमा ५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण खुल्न बाँकी रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij