Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

बोलिभियामा देशव्यापी संकटकाल घोषणा

बोलिभियामा देशव्यापी संकटकाल घोषणा


  • 134
    Shares

    बोलिभियामा देशव्यापी संकटकाल घोषणा
    images

    काठमाडौ । जलवायु परिवर्तनसँग जोडिएको मौसमी प्रभाव एल निनोका कारण खडेरी र बाढीको जोखिम बढेपछि दक्षिण अमेरिकी देश बोलिभियाले देशव्यापी संकटकाल घोषणा गरेको छ ।

    राष्ट्रपति रोड्रिगो पाजले शनिबार संकटकालीन अवस्थासम्बन्धी आदेशमा हस्ताक्षर गरेका हुन् । यससँगै प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन र राहत तथा स्रोतसाधन व्यवस्थापनलाई तीव्र बनाउने बाटो खुलेको छ ।

    राष्ट्रपति पाजका अनुसार एल निनोका कारण देशले खडेरी र बाढी दुवैको गम्भीर प्रभाव सामना गर्नुपर्ने देखिएको छ । उनले यस चुनौतीको सामना गर्न सबै सरकारी निकाय र संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

    सरकारी प्रतिवेदनअनुसार बोलिभियाका नौमध्ये छवटा प्रशासनिक क्षेत्रमा खडेरीबाट ७८ हजार परिवार प्रभावित भएका छन् । खडेरीका कारण ७५ हजारभन्दा बढी गाईवस्तु मरेका छन् । यसले कृषि तथा पशुपालनमा निर्भर समुदायको जीविकोपार्जनमा गम्भीर असर पारेको छ ।

    बोलिभिया खडेरीसँगै बाढीको जोखिममा पनि रहेको देश हो । सन् २०२५ को डिसेम्बरमा सान्ता क्रुज क्षेत्रमा आएको बाढीका कारण दर्जनौँ मानिसको मृत्यु भएको थियो ।

    एल निनो प्रत्येक दुईदेखि सात वर्षको अन्तरालमा देखिने प्राकृतिक जलवायु प्रणाली हो । प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी हुँदा यसले विश्वव्यापी हावाहुरी, वायुचाप र वर्षाको स्वरुपमा परिवर्तन ल्याउँछ । यसको प्रभावले कुनै क्षेत्रमा अत्यधिक वर्षा र बाढी आउन सक्छ भने अन्य क्षेत्रमा खडेरी तथा तापक्रम वृद्धि हुन सक्छ ।

    यसपटकको एल निनो सन् २०२६ को अन्त्यतिर उत्कर्षमा पुग्ने अनुमान गरिएको छ । यसको प्रभाव सन् २०२७ सम्म पनि जारी रहन सक्ने वैज्ञानिकहरूको आकलन छ ।

    विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) ले सेप्टेम्बरको सुरुवातमा एल निनोको प्रभाव सन् २०२७ को फेब्रुअरीसम्म जारी रहने सम्भावना झन्डै शतप्रतिशत रहेको जनाएको थियो ।

    वैज्ञानिकहरूले यसपटकको एल निनो अभिलेख राख्न थालिएयताकै शक्तिशालीमध्ये एक हुन सक्ने चेतावनी दिएका छन् । यसको प्रभाव विश्वव्यापी रूपमा फैलिँदा विशेषगरी गरिब तथा जलवायु जोखिममा रहेका देशहरू बढी प्रभावित हुने अनुमान गरिएको छ ।

    यसैबीच, बोलिभियाको छिमेकी देश चिलीको राजधानी सान्टियागोमा अक्टोबर महिनामा अहिलेसम्मकै सबैभन्दा बढी वर्षा रेकर्ड भएको छ । पेरुमा गत महिना लागेको डढेलोमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

    बोलिभिया सरकारले संकटकाल घोषणामार्फत विपद् प्रभावित क्षेत्रमा तत्काल स्रोतसाधन परिचालन, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

    एजेन्सी

     

    प्रकाशित मिति :कार्तिक १५ २०८३ आइतवार - ११:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij