२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । इलामबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार सुरु भएको छ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै कात्तिक १३ गतेदेखि इलाममा २५औँ सत्याग्रह सुरु गरेका केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि सोमबार बिहान काठमाडौं ल्याइएको हो।
पूर्वाधारबिनै चिकित्सा शिक्षा पढाउन अनुमति दिइएको भन्दै विरोधमा उत्रिएका केसीले स्वार्थको द्वन्द्व देखिने निर्णय खारेज गर्नुपर्ने माग राखेका छन्।
चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएसमा ११० सिट थप गर्ने निर्णय गरेको थियो। सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थपिएपछि केसीले विरोध जनाएका थिए।
उनले नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थपिएका सिट तत्काल फिर्ता गर्न माग गरेका छन्। माग सम्बोधन नभएको भन्दै उनले इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij