२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सुरक्षा सल्लाहकार पदको नियुक्ति पत्र बुझ्न अस्वीकार गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारका रूपमा सरुवा गर्ने निर्णय गरेको थियो।
सरकारले उनलाई नेपाल सरकारको सचिवसरह सेवा–सुविधा उपलब्ध गराउने निर्णयसमेत गरेको थियो। तर, कार्कीले नयाँ जिम्मेवारीसँगै प्राप्त हुने पद र सुविधासमेत अस्वीकार गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक सचिवले बताएका छन्।
सरकारले कार्कीलाई हटाएर प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो। डा. केसीले दर्ज्यानी चिह्न लगाएर पदभारसमेत सम्हालिसकेका छन्।
आफ्नो कार्यकाल बाँकी छँदै सरकारले गैरकानुनी र पूर्वाग्रहपूर्ण ढंगले पदबाट हटाएको दाबी गर्दै कार्की कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन्।
उनले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्। सरकारको निर्णयविरुद्ध न्यायिक लडाइँमा जाने तयारी गरेकै कारण उनले विशेष सुरक्षा सल्लाहकारको नियुक्ति पत्र नबुझेको उनीनिकट स्रोतले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij