२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो राजनीतिक जीवनमा कुनै पनि आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्। आफ्नो चरित्रमाथि प्रश्न उठाउने उद्देश्यले प्रायोजित षड्यन्त्र रचिएको उनको आरोप छ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले आफू कुनै कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पारे। प्रहरी हिरासतमा रहेका व्यवसायी इनम सापकोटाको अडियो सार्वजनिक भएपछि आफ्नो नाम जोडेर भ्रम फैलाइएको भन्दै उनले त्यसको खण्डन गरेका हुन्।
कांग्रेसको विशेष महाधिवेशन र पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै आर्थिक लेनदेन नभएको उनको भनाइ छ। “एक रुपैयाँ त के, एक सुकाको पनि आर्थिक लेनदेन वा कुनै अनुचित काम भएको छैन,” उनले भने।
थापाले सार्वजनिक अडियोको निष्पक्ष अनुसन्धान गर्न मागसमेत गरेका छन्। अडियो कसले, कहिले र किन रेकर्ड गर्यो भन्ने आफूलाई जानकारी नभएको बताउँदै उनले अनुसन्धानबाट सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गरे।
अडियो प्रकरणपछि विभिन्न दलका नेतासँग मध्यरातमा भेटेको भन्ने चर्चाको पनि उनले खण्डन गरे। मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने भएकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको उनले स्पष्ट पारे।
थापाले वर्तमान सरकार जनताका जल्दाबल्दा समस्याप्रति गम्भीर नभएको आरोप पनि लगाए। बाढीपहिरो पीडितको पुनर्स्थापना, सुकुमबासी समस्या, अर्थतन्त्र, लगानी र रोजगारी सिर्जनामा सरकारले ध्यान दिन नसकेको उनको भनाइ छ।
सरकारका गलत काममाथि प्रश्न उठाउँदा आफूविरुद्ध प्रायोजित हल्ला फैलाइएको दाबी गर्दै थापाले यस्ता प्रचारले आफूहरूका प्रश्न नरोकिने बताए। उनले आफ्नो निष्ठामाथि शङ्का नगर्न कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गर्दै भने, “मेरो हातमा दाग छैन, मनमा कालो छैन। म कमजोर भएको भए शक्तिशाली सत्तासँग लड्ने आँट आउने थिएन।”
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij