Logo

२०८३ कार्तिक २० गते शुक्रवार

२०८३ कार्तिक २० गते शुक्रवार

आज दिनभरको ३८ खबर एकै ठाउँमा

आज दिनभरको ३८ खबर एकै ठाउँमा


  • 540
    Shares

    आज दिनभरको ३८ खबर एकै ठाउँमा
    images

    १. सडकको किलोमिटर होइन, यात्रा समय घटेको आधारमा पूर्वाधार विकास मापन गर्नुपर्छः निकोलस पाण्डे

    नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले नेपालको पूर्वाधार विकासलाई सडक निर्माणको लम्बाइबाट नभई एक ठाउँबाट अर्को ठाउँ पुग्न लाग्ने समयका आधारमा मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले देशका प्रमुख सहर तथा पूर्व–पश्चिमका भूभागलाई निश्चित समयभित्र जोड्नसके मात्रै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताउनुभएको हो । उहाँले काठमाडौंलाई तीन घण्टामा चितवन, साढे तीन घण्टामा पोखरा, ६ घण्टामा काँकडभिट्टा र नौ घण्टामा कञ्चनपुरसँग जोड्ने पूर्वाधार आवश्यक रहेको औँल्याउनु भयो । त्यस्तै, पूर्वदेखि पश्चिमसम्मको यात्रा १२ घण्टामा पूरा गर्न सक्ने अवस्था बनाउनुपर्ने उहाँको भनाइ छ । 

    २. लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारीः मन्त्री लम्साल

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले लगानी सम्मेलनअघि नै आवश्यक कानूनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको बताउनुभएको हो । उहाँले यसपटकको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई बोलाएर ठूला परियोजनाको सूची प्रश्तुत गर्ने र लगानीको प्रतिवद्धता जुटाउनेमा मात्रै केन्द्रित नहुने स्पष्ट पार्नुभयो । सरकारले लगानीमैत्री वातावरण निर्माणका लागि गरेका कानूनी सुधार, लगानीको सुरक्षा, श्रमिकको संरक्षण र बजारको सुनिश्चितताबारे जानकारी गराउने सम्मेलनको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ । 

    ३. राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना

    राष्ट्रपति रामचन्द्र पौडेलले सम्यक महादानलाई धर्म, संस्कृति र परम्पराको विशिष्ट महत्त्व बोकेको पवित्र कार्यका रूपमा व्याख्या गर्नुभएको छ । बिहीवार शीतलनिवासमा काठमाडौं महानगरपालिका सम्यक महादान मूल समारोह समितिले आयोजना गरेको सम्यक महादानको निमन्त्रणा कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले विश्वशान्ति तथा देश र जनताको हित एवं कल्याणका लागि गरिने यस्तो कार्यको प्रशंसा गर्नुभयो । उहाँले सम्यक महादानजस्तो पुनीत कार्य आयोजना गर्न लागेकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्यक्रमको निमन्त्रणा सहर्ष स्वीकार गरेको बताउनु भयो । 
    उहाँले भन्नुभयो, ‘हाम्रो धर्म, संस्कृति, परम्परा, सम्यक महादानको महिमा विशिष्ट खालको छ । यो पुनीत कार्यको सफलताको शुभकामना पनि व्यक्त गर्दछु ।’

    ४. मेलमिलापबाट भएका विवाद समाधानलाई अदालतको फैसलासरह कार्यान्वयन गर्नुपर्छः उपमेयर शाक्य

    ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मेलमिलापको माध्यमबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ । बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथिको छलफलमा धारणा राख्दै उनले मेलमिलापबाट भएका सहमति कार्यान्वयनमा जटिलता रहेको बताउनुभएको हो । उहाँले मेलमिलापबाट विवाद टुङ्गिए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको उल्लेख गर्दै अदालतको फैसलासरह मेलमिलापबाट भएका सहमतिलाई पनि कानूनी मान्यता र कार्यान्वयनको सुनिश्चितता दिनुपर्ने बताउनु भयो ।  

    ५. भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री साहबीच सिंहदरबारमा भेटवार्ता

    भ्रमणका क्रममा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीवार बिहान प्रधानमन्त्री बालेन्द्र साहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ । दुई दिने औपचारिक भ्रमणका लागि बुधवार काठमाडौं आउनुभएका विदेश सचिव मिश्रीले उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिनुभएको हो । प्रधानमन्त्री साहसँगको भेटमा उहाँले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिमा निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    ६. पूर्वाधार विकासमा स्वदेशी लगानीकर्ता र निर्माण कम्पनीलाई पनि प्राथमिकता दिनुपर्छः अध्यक्ष श्रेष्ठ

    नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वाधार विकासका ठूला परियोजनामा विदेशी लगानीकर्तालाई मात्रै नभई स्वदेशी निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने बताउनुभएको छ । 
    बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले विदेशी कम्पनीलाई परियोजना दिँदा नेपाली निर्माण कम्पनीलाई पनि संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) मा सहभागी गराउने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले विदेशी कम्पनीसँगको सहकार्यबाट नेपाली निर्माण व्यवसायीको क्षमता अभिवृद्धि हुने र भविष्यमा ठूला पूर्वाधार परियोजना आफैँ निर्माण गर्न सक्ने अवस्था बन्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले भारतको दिल्ली मेट्रो निर्माणको उदाहरण दिँदै त्यहाँ भारतीय निर्माण कम्पनीलाई विदेशी कम्पनीसँग संयुक्त रूपमा काम गर्ने अवसर दिइएकाले अहिले भारतीय कम्पनीहरू आफैँ मेट्रो निर्माण गर्न सक्षम भएको उल्लेख गर्नुभयो ।

    ७. पूर्वाधार विकासमा सरकार आफैँ ‘ड्राइभिङ सिट’ माः अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वाधार विकास र आर्थिक सुधारको अभियानमा सरकारले निजी क्षेत्रसँगै नेतृत्वदायी भुमिका लिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले यसपटकको सम्मेलन विगतका संस्करणभन्दा फरक रहेको उल्लेख गर्दै सरकार आफैँ ‘ड्राइभिङ सिट’ मा बसेर पूर्वाधार विकासको अभियान अघि बढाउन लागेको बताउनुभएको हो । उहाँले यसअघि नेपाल उद्योग परिसंघ (सीएनआई) को नेतृत्वमा हुँदै आएको नेपाल पूर्वाधार सम्मेलनमा यसपटक सरकार मूल सहआयोजकका रूपमा सहभागी भएको बताउनु भयो । पूर्वाधार विकासमा सरकारी बजेट मात्रै पर्याप्त नहुने भएकाले निजी क्षेत्रको पुँजी परिचालन गर्नुपर्ने उहाँको भनाइ छ । 

    ८. पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित नगरी छलाङ मार्न सकिँदैनः अर्थमन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी आकर्षित नगरी अपेक्षित उपलब्धि हासिल गर्न नसकिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उहाँले पूर्वाधार निर्माणका लागि सरकारको स्रोत मात्रै पर्याप्त नहुने भएकाले निजी पुँजी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले सरकारको बजेट र राजश्वबाट मात्रै मुलुकको पूर्वाधार आवश्यकता पूरा गर्न नसकिने उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट रहे पनि पूर्वाधार मन्त्रालयको बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ मात्रै रहेको भन्दै उहाँले त्यसबाट हुने वास्तविक पुँजीगत लगानी अझै सीमित हुने बताउनु भयो ।

    ९.धनतेरसका लागि राष्ट्र बैंकले बेच्न थाल्यो सुन र चाँदीका सिक्का

    नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीवारदेखि सुन र चाँदीका सिक्का विक्री शुरु गरेको छ । राष्ट्र बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार विभागबाट असर्फी र चाँदीका सिक्का विक्री शुरु गरेको हो । धनतेरसमा सुनका असर्फीको माग बढी हुने भएकाले सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंककाअनुसार सर्वसाधारणले प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्रामका एक–एक थान असर्फी खरिद गर्न सक्नेछन् । सुनको प्रचलित बजार मूल्यमा निर्माण लागत जोडेर असर्फीको मूल्य निर्धारण गरिएको छ । व्यक्तिगत खरिदकर्ताका लागि सुनको बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी दैनिक मूल्य तय गरिने राष्ट्र बैंकले जनाएको छ । 

    १०. तेस्रो जितपछि लुम्बिनीको प्लेअफ होड बलियो

    उत्कृष्ट बलिङले निरन्तरता दिँदा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरमा भएको आफ्नो चौथो खेलमा पनि उत्कष्ट बलिङ साथ पाउँदा लुम्बिनीले जनकपुर बोल्ट्समाथि १६ रनको जित रचेको हो । चौथो खेलसम्म अपराजित लुम्बिनीले प्लेअफको सम्भावना पनि बलियो बनाएको छ । चार खेलबाट लुम्बिनी सात अंक जोड्दै शिर्ष स्थानमा छ । यस सिजनमा लुम्बिनी अपराजित एक मात्र टोली पनि हो । कप्तान रोहितले ब्याटिङसँगै किफायती बलिङ पनि गरे । जनकपुरले इङ्लिस ब्याटर तथा ओपनर मोइन अलीको अभाव महसुस ग¥यो । शुरुमै विकेट गुमाउँदा समालिन सकेन । बलरले उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी भने बलियो स्थितिमा पुगेको छ । 

    ११. तिहारका लागि पोखरामै ७५ प्रतिशत सयपत्री उत्पादन, २०० रोपनीमा फूल खेती

    स्थानीय कृषि उत्पादनको प्रवद्र्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले तिहार लक्षित फूल खेतीलाई प्राथमिकता दिदै आएको छ । महानगरपालिकाले विगत तीन वर्षदेखि विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल उत्पादनका लागि किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ । पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियाकाअनुसार महानगरले फूल खेती विस्तारका लागि किसानलाई सयपत्री फूलको बीउ, मल्चिङ प्लास्टिक, आवश्यक कृषि सामग्री तथा प्राविधिक तालिम उपलब्ध गराउँदै आएको छ । महानगरपालिकाको सहयोग, किसानको मेहनत र विभिन्न संघसंस्थाको सहकार्यका कारण पोखरामा सयपत्री फूल खेती विस्तार हुँदै गएको छ । 

    १२. तिहार, छठ र नेपाल संवत् लक्षित सुरक्षा व्यवस्था कडा, ५० हजारभन्दा बढी प्रहरी परिचालन

    नेपाल प्रहरीले तिहार, दीपावली, छठ तथा नेपाल संवत पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा पारेको छ । प्रहरीले सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेले पर्वलक्षित सुरक्षा कार्ययोजना बनाएर देशभर कार्यान्वयन ल्याएको जानकारी दिनुभयो । उहाँकाअनुसार सम्भावित सुरक्षा चुनौतीको पहिचान र विश्लेषण गरी जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी तथा प्रहरी परिचालन बढाइएको छ । 

    १३. टिम युनिटका रूपमा खेल्दा सफल भयौं–लुम्बिनीका प्रशिक्षक टिनो

    नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो जितपछि लुम्बिनी लायन्सका प्रशिक्षक टिनो योहाननाले टिम युनिटका रूपमा खेल्दा सफलता मिलेको बताएका छन् । जनकपुर बोल्ट्समाथि जितपछि पत्रकार सम्मेलनमा प्रशिक्षक टिनोले आफ्नो टोलीले कठिन स्थिति सामना गरेर आएको स्मरण गर्दै अहिले एक टिम युनिटका रूपमा योगदान गर्दा जित सफल भएको बताए । हरेक कठिन स्थितिमा आफ्ना खेलाडीले राम्रोसँग समालिँदा राम्रो नतिजा आइरहेको उनको भनाइ छ । उनले हरेक खेलाडीले फरक भूमिकाबाट योगदान दिँदै आएको बताए । टिममा कप्तान रोहित पौडेल, निरोसन डिकवेला र डार्सी सट जस्ता अनुभवी खेलाडी रहनु महत्वपूर्ण पक्ष रहेको उनी बताउँछन् ।

    १४. जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी तिब्र, १७ बगीको रेलबाट परीक्षण

    जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तिब्र पारिएको छ । यसैक्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बगीको भारतीय रेल चलाइएको हो । नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रवन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिनुभयो । उहाँकाअनुसार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले परीक्षणको काम अघि बढाइएको हो । रेल सञ्चालनका लागि आवश्यक तयारी तीव्र पारिए पनि परीक्षणको चरण भने अझै पूरा भइसकेको छैन ।

    १५. जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनअघि स्टेशनको पूर्वाधार सुधार गर्न माग

    जनसरोकार अभियानले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालन गर्ने तयारी भइरहेको समयमा जनकपुरधामस्थित रेल्वे स्टेशनको भौतिक पूर्वाधार तथा यात्रु सुविधामा सुधार गर्न माग गरेको छ । 
    जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनी जनकपुरधामलाई ज्ञापनपत्र बुझाउँदै स्टेशनको सरसफाइ, खानेपानी, शौचालय, प्रतीक्षालय लगायतका आधारभूत सुविधा व्यवस्थित गर्न माग गरेको हो । अभियानका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा पुगेको अभियानको टोलीले ज्ञापनपत्र बुझाउँदै रेल चढ्ने र ओर्लिने यात्रुको सहज व्यवस्थापन गर्नुपर्ने, बिग्रिएका भौतिक संरचना तथा विद्युतीय उपकरण मर्मतसम्भार गर्नुपर्ने, रेल्वे परिसरभित्रका खाली जग्गालाई व्यवस्थित पार्क तथा बगैँचाका रूपमा विकास गर्न, निर्माण सम्पन्न भएका दैनिक हाटबजारका सटर तथा भवन सञ्चालनमा ल्याउन र रेल्वे क्रसिङमा हुने दुर्घटनाको जोखिम न्युनिकरण गर्न सडक मर्मत तथा छेकबारको उचित व्यवस्था गर्न माग गरेको हो । 

    १६. काँग्रेसले भन्यो–पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ

    नेपाली काँग्रेसले पार्टी नेतृत्व र पार्टीको वैधानिकतामाथि भ्रम सिर्जना गर्ने उद्देश्यले षड्यन्त्र भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने जनाएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद, संसदीय समिति र आम नागरिकबीच भण्डाफोर गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूले नेपाली कांग्रेस र पार्टी नेतृत्वमाथि भ्रम सिर्जना गर्ने प्रयास गरेको आरोप लगाउनु भयो । त्यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उहाँको भनाइ छ । रसाइलीले यस विषयलाई प्रतिनिधिसभा र संसदीय समितिमा समेत सशक्त रूपमा उठाइने बताउनु भयो । 

    १७. अवसरको सदुपयोग गर्न नसक्दा हा¥यौँः जनकपुरका प्रशिक्षक चन्द्रपाल

    जनकपुरका प्रशिक्षक शिवनारिन चन्द्रपलले खेलाडी अवसरको सदुपयोग गर्न नसक्दा खेलमा असर परेका बताएका छन् । मोइन अली अनुभवले टोलीलाई मद्दत गरिररहेको उनले उल्लेख गरे । तर उनी टोलीमा नहुँदा बलिङ र ब्याटिङ असर परेको प्रशिक्षक चन्द्रपलले उल्लेख गरे । विदेशी खेलाडीसँगै घरेलु खेलाडीले आफ्नो ठाउँमा योगदान दिँदा मात्र जित सम्भव हुने उनले उल्लेख गरे । तथापि घरेलु खेलाडीले राम्रो गर्न नसकेको उनी बताउँछन् । हरेक खेलाडीले एक टिम भएर खेल्दा मात्र जित सम्भव हुने प्रशिक्षक चन्द्रपलले बताए । तर आफ्नो टोली त्यसमा चुकेको बताउँछन् । आगामी खेलमा सुधार गर्दै जित निकाल्ने उनको विश्वास छ ।

    १८. १०० अर्ब डलरको अर्थतन्त्र निर्माणका लागि पूर्वाधारमा लगानी बढाउनुपर्छः अध्यक्ष पाण्डे

    नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपाललाई १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र बनाउने लक्ष्य हासिल गर्न पूर्वाधार क्षेत्रमा लगानी बढाउनुका साथै उत्पादन क्षमता विस्तार गर्नुपर्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ सम्बन्धी पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसलाई सम्बोधन गर्दै उहाँले पूर्वाधार विकासलाई सडक र पुल निर्माणमा मात्रै सिमित नराखी समग्र आर्थिक विकासको श्रृङ्खलाका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको हो । उहाँले सडक, पुल, प्रसारण लाइन, सिंचाई, औद्योगिक क्षेत्र, गोदाम, डिजिटल सञ्जाल, खानेपानी र व्यवस्थित शहरी विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

    १९. ‘पूर्वाधार सम्मेलनअघि कानूनी सुधारको काम पूरा गर्न सरकारलाई दोब्बर कामको दबाब’

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार सम्मेलनअघि कानुनी सुधारको लक्ष्य पूरा गर्न चाडपर्व र सार्वजनिक बिदासमेत नभनी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ सम्बन्धी पत्रकार सम्मेलन तथा प्रोजेक्ट शोकेसलाई सम्बोधन गर्दै उहाँले कानून संशोधनको काम अन्तिम चरणमा पुगेको र लक्ष्य पूरा गर्न सबै पक्षले तिब्र गतिमा काम गर्नुपर्ने बताउनुभएको हो । उहाँकाअनुसार सरकारले एकैपटक ५९ वटा कानूनका ४९४ वटा दफा संशोधन गर्ने तयारी गरेको छ । संशोधनका लागि तयार पारिएका मस्यौदा कानून मन्त्रालयमा पुगेकाले अब तिनलाई अन्तिम रूप दिने काम मात्रै बाँकी रहेको उहाँले बताउनु भयो । 

    २०. एआईमा खुला सहकार्य र डिजिटल साझेदारीमा जोड

    कृत्रिम बौद्धिकता (एआई) को विकास तथा डिजिटल प्रविधिमा साझा सहकार्यलाई प्रवद्र्धन गर्न चीनमा आयोजित विश्व इन्टरनेट सम्मेलनमा सहभागीहरूले खुला प्रविधि र सामूहिक नवप्रवर्तनमा जोड दिएका छन् । चीनको पूर्वी झेजियाङ प्रान्तस्थित वुझेनमा मंगलबारदेखि सुरु भएको सन् २०२६ को विश्व इन्टरनेट सम्मेलन (डब्लूआईसी) वुझेन शिखर सम्मेलनमा सहभागी प्रतिनिधिहरूले एआई विकासमा खुला सहकार्य आवश्यक रहेको बताएका हुन् । ‘खुला स्रोत र खुलापन, संयुक्त योगदान र साझा लाभ ः साइबर स्पेसमा साझा भविष्यको समुदाय निर्माण’ भन्ने नाराका साथ शुरु भएको सम्मेलनमा १३८ देश तथा क्षेत्रका करिब एक हजार ८०० प्रतिनिधि सहभागी छन् । 

    २१. चीनमा पाँचवटा विद्युतीय उड्ने विमानको एकसाथ सफल उडान

    काठमाडौं । चीनको विद्युतीय ठाडो उडान तथा अवतरण (ईभीटीओएल) विमान निर्माता कम्पनी अटोफ्लाइटले पाँचवटा विमान एकसाथ उडाएर नयाँ उपलब्धि हासिल गरेको छ । चीनको पूर्वी जियाङ्सु प्रान्तको कुनसानमा कम्पनीले पाँचवटा ईभीटीओएल विमानको एकसाथ सफल उडान परीक्षण गरेको हो । पूर्ण रूपमा स्वचालित प्रणालीमार्फत गरिएको उक्त उडान ४७ मिनेटसम्म सञ्चालन भएको थियो । उडानका क्रममा पाँचवटै विमानले संयुक्त रूपमा १३३ किलोमिटरभन्दा बढी दूरी पार गरेका थिए । यस उपलब्धिले स्वचालित उडान प्रविधि तथा विद्युतीय हवाई यातायातको विकासमा चीनले गरिरहेको प्रगतिलाई थप उजागर गरेको छ । कम्पनीको यो परीक्षणलाई भविष्यमा सहरी हवाई यातायात तथा विद्युतीय विमानको व्यावसायिक प्रयोगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । 

    २२. दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनको निर्वाचन रद्ध हुनसक्ने, पुनरावेदन अदालतबाट पनि दोषी ठहर

    दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलको सन् २०२२ को राष्ट्रपतीय निर्वाचनको वैधानिकता रद्ध हुनसक्ने भएको छ । निर्वाचनका क्रममा झुटा अभिव्यक्ति दिएको अभियोगमा पुनरावेदन अदालतले समेत उनलाई दोषी ठहर गर्दै यसअघिको फैसला सदर गरेको छ । सियोल उच्च अदालतले बुधबार युनलाई १८ महिना कैद र तीन वर्ष निलम्बित सजाय सुनाएको हो । अदालतले सार्वजनिक पदाधिकारी निर्वाचन ऐन उल्लङ्घनसम्बन्धी सबै अभियोगमा तल्लो अदालतले गरेको दोषी ठहरलाई कायम राख्दै उनको पुनरावेदन खारेज गरेको छ । युन र उनकी पत्नीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गरेका स्वतन्त्र विशेष अनुसन्धानकर्ता मिन जोङ कीको टोलीले पनि पुनरावेदन अदालतमा तल्लो अदालतकै फैसला सदर गर्न माग गरेको थियो । 

    २३. पाकिस्तानद्वारा स्वदेशमै विकसित पहिलो हावाबाट हावामा मार हान्ने क्षेप्यास्त्रको सफल परीक्षण

    पाकिस्तानले स्वदेशमै विकास गरेको पहिलो हावाबाट हावामा मार हान्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । पाकिस्तानी सेनाको सञ्चार तथा जनसम्पर्क शाखा (आईएसपीआर) का अनुसार मंगलवार उक्त क्षेप्यास्त्रको उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको हो । आईएसपीआरले जारी गरेको विज्ञप्तिमा अत्याधुनिक अन्तिम चरणको लक्ष्य निर्देशन प्रणाली जडान गरिएको उक्त क्षेप्यास्त्रले लामो दूरीमा रहेका हवाई लक्ष्यलाई समेत निशाना बनाउन सक्ने उल्लेख छ । यस क्षेप्यास्त्रको विकासले पाकिस्तानी वायुसेनाको सैन्य परिचालन क्षमता र रणनीतिक लचकता बढाउनुका साथै मुलुकको समग्र रक्षा प्रणालीलाई थप सुदृढ बनाउने विश्वास सेनाले व्यक्त गरेको छ । 

    २४. यमनमा भीषण झडप र हवाई आक्रमण, विभिन्न क्षेत्रमा ६ जनाको मृत्यु

    यमनमा सरकारी सेना र हुथी विद्रोहीबीचको द्वन्द्व चर्किँदै जाँदा दक्षिणी तथा दक्षिणपश्चिमी क्षेत्रमा भएका झडप र हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । दक्षिणी लाहिज र दक्षिणपश्चिमी ताइज प्रान्तमा भएका आक्रमणमा सर्वसाधारणसमेत हताहत भएको सैन्य तथा हुथी सञ्चारमाध्यमहरूले जनाएका छन् । यमनको सरकारी सेनाका एक अधिकारीकाअनुसार हुथी विद्रोहीले सरकारी नियन्त्रणमा रहेको लाहिज प्रान्तको एक सार्वजनिक बजारमा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए । उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । 

    २५. युरोपसँग युद्ध गर्ने रुसको चाहना छैन, तर द्वन्द्वका लागि तयार छौँः लावरोभ

    रुसका विदेशमन्त्री सर्गेई लावरोभले युरोपसँग युद्ध गर्ने आफ्नो देशको कुनै चाहना नरहेको तर युरोपले द्वन्द्व शुरु गरे त्यसको सामना गर्न रुस पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ । बेलारुसको राजधानी मिन्स्कमा शुरु भएको चौथो मिन्स्क अन्तर्राष्ट्रिय युरेसियन सुरक्षा सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लावरोभले रुसले पश्चिमा मुलुकहरूसँगको सहकार्यका लागि कहिल्यै ढोका बन्द नगरेको स्पष्ट पार्नुभयो । रुसप्रति शत्रुतापूर्ण सोच त्याग्ने पश्चिमा देशहरूसँग सहकार्य गर्न आफ्नो देश सधैँ तयार रहेको उहाँको भनाइ थियो । यद्यपि, युरोपसँग प्रत्यक्ष संवादको सम्भावना भने अझै स्पष्ट नभएको उहाँले बताउनु भयो । विश्वव्यापी रूपमा बहुध्रुवीय व्यवस्थातर्फ अघि बढिरहेको प्रवृत्तिबाट पश्चिमा मुलुकहरू विमुख भइरहेको उहाँको आरोप थियो ।

    २६. लाट्भियामा नयाँ सरकार गठनका लागि प्रधानमन्त्री कुलबग्र्स मनोनीत

    लाट्भियाका राष्ट्रपति एडगर्स रिन्केभिक्सले वर्तमान प्रधानमन्त्री एन्ड्रिस कुलबग्र्सलाई नयाँ सरकार गठनका लागि औपचारिक रूपमा मनोनीत गर्नुभएको छ । राष्ट्रपति रिन्केभिक्सले बुधबार कुलबग्र्सलाई आगामी सरकार गठनको जिम्मेवारी दिनुभएको हो । अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा कुलबग्र्स नेतृत्वको युनाइटेड लिस्ट पार्टीले फराकिलो मतान्तरसहित विजय हासिल गरेको थियो । यद्यपि, संसद्मा स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि अन्य दलसँग गठबन्धन गर्नुपर्ने अवस्था आएको छ । मंगलवार नवनिर्वाचित संसद बैठक शुरु भएसँगै संवैधानिक व्यवस्थाअनुसार कुलबग्र्स नेतृत्वको मन्त्रिपरिषद्ले राजीनामा दिएको थियो । 

    २७. सांघाईको सुविधा पसलमा २४ घण्टे सेवामा खटिए ६ मानवरूपी रोबोट

    चीनको सांघाईस्थित एक सुविधा पसलमा ६ वटा मानवरूपी रोबोटले २४ घण्टे कार्य परीक्षण पूरा गरेका छन् । चीनमा निर्मित ‘एजीबोट जिनी जी–२’ मोडलका ती रोबोटलाई पसलमा ग्राहक सेवासहित विभिन्न काममा खटाइएको थियो । परीक्षणका क्रममा रोबोटहरूले ग्राहकलाई स्वागत गर्ने, खानेकुरा तथा पेय पदार्थ उपलब्ध गराउने, पसलका ¥याकमा सामान पुनः भर्ने र टेबल सफा गर्नेलगायतका काम गरेका थिए । उक्त परीक्षण वास्तविक व्यावसायिक वातावरणमा सञ्चालन गरिएको थियो। परीक्षणका गतिविधि अनलाइनमार्फत प्रत्यक्ष प्रशारणसमेत गरिएको थियो । नियन्त्रित प्रयोगशालामा मात्र सीमित रहँदै आएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित मानवरूपी रोबोटलाई दैनिक व्यावसायिक सेवामा प्रयोग गर्न सकिने सम्भावना यस परीक्षणले देखाएको छ ।

    २८. ‘सरकारले चाहेजस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’

    सञ्चार क्षेत्रका सरोकारवालाहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको भन्दै त्यसका विरुद्ध आन्दोलनमा उत्रिनुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल पत्रकार महासंघ, केन्द्रिय समितिले आयोजना गरेको ‘मिडिया काउन्सिल विधेयकः आमसञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । प्रेस नियन्त्रणकारी कानुन निर्माण प्रक्रिया अघि बढ्न नदिन, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र पत्रकारिताका आधारभूत मूल्य तथा मान्यताको संरक्षणका लागि सामूहिक आन्दोलनमा उत्रिनुको विकल्प नरहेको उनीहरुको भनाइ छ । प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले सरकारले पत्रकारिताको परिभाषा आफैँ निर्धारण गर्न खोजेको आरोप लगाउनु भयो ।

    २९. अमूर्त सम्पदाको संरक्षण लिखित अभिलेखमा मात्र सीमित नराखी व्यवहारमा समेत निरन्तरता दिन सम्यक महादानः कार्यवाहक प्रमुख डंगोल

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्यक महादानले नेवाः बौद्ध धर्म, संस्कृति तथा अमूर्त सम्पदाको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । रोल...
    राष्ट्रपति रामचन्द्र पौडेललाई सम्यक महादान कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिन शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सम्यक महादान आयोजना गर्नुको मुख्य उद्देश्य परम्परागत संस्कृति, ऋतिरिवाज तथा अमूर्त सम्पदालाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु रहेको उहाँको भनाइ छ । कार्यवाहक प्रमुख डंगोलले अमूर्त सम्पदाको संरक्षण लिखित अभिलेखमा मात्र सीमित नभई व्यवहारमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

    ३०. पत्रकार महासंघका पूर्वअध्यक्षहरूको आह्वान– प्रेस स्वतन्त्रता र संविधानमाथि राज्यको हस्तक्षेप बढ्यो, संगठित रुपमा प्रतिवाद गरौँ

    नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरूले प्रेस स्वतन्त्रता र संविधानमाथि राज्यको हस्तक्षेप बढ्दै गएको भन्दै त्यसविरुद्ध संगठित रूपमा प्रतिवाद गर्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल पत्रकार महासंघ, केन्द्रिय समितिले आयोजना गरेको ‘मिडिया काउन्सिल विधेयकः आमसञ्चार कानून र प्रेस स्वतन्त्रताको रक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । सञ्चारगृह र पत्रकारहरुमाथिको धरपकड र हस्तक्षेपलाई लोकतान्त्रिक अधिकार संविधधानको रक्षासँ जोडेर हेर्नुपर्ने उनीहरुको भनाइ छ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. सुरेश आचार्य सरकारले मिडिया क्षेत्रलाई मात्र नभई सबै क्षेत्रलाई आतंकित गर्ने प्रयास गरिरहेको आरोप लगाउनु भयो । 

    ३१. प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ

    नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस काउन्सिल ऐन, २०४८ संशोधनका लागि सरकारले ल्याएको अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल पत्रकार महासंघ, केन्द्रिय समितिले आयोजना गरेको ‘मिडिया काउन्सिल विधेयकः आमसञ्चार कानून र प्रेस स्वतन्त्रताको रक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारले जारी गरेको प्रेस काउन्सिल अध्यादेशले स्वीकृत भएको खण्डमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रासम्बन्धी संवैधानिक अधिकार कुण्ठित हुने तर्क समेत गर्नुभयो । उहाँले अध्यादेशका विषयवस्तुमा प्रेस काउन्सिल नेपालको सुझाव लिइएको भन्ने काउन्सिल अध्यक्ष उमेश श्रेष्ठको भनाइप्रति समेत प्रश्न उठाउनु भयो । अध्यादेशले मिडिया क्षेत्रलाई थप नियन्त्रण गर्ने अवस्था सिर्जना गरेको भन्दै उहाँले प्रेस काउन्सिल र पत्रकार महासंघबीच समेत यस विषयमा मतभिन्नता देखिएको बताउनु भयो ।

    ३२. एमाले सांसद सिद्धिकीको प्रश्नः न्यायधीशलाई मेलमिलापकर्ता बनाउँदा न्यायिक निष्पक्षता कसरी कायम हुन्छ ?

    नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले न्यायाधीशलाई नै मेलमिलापकर्ताको जिम्मेवारी दिने प्रश्तावप्रति प्रश्न उठाउनुभएको छ । बिहीवार कानून, न्याय तथा मानव अधिकार समितिमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उहाँले न्याय दिने जिम्मेवारीमा रहेका व्यक्तिलाई मिलमिलापकर्ता बनाउँदा न्यायिक निष्पक्षता र संस्थागत विश्वसनीयतामा प्रश्न उठ्ने बताउनु भयो । न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिएमा स्वतन्त्र मेलमिलापकर्ता, उनीहरूको उत्पादन, तालिम तथा प्रमाणीकरण गर्ने संस्थाको भूमिकामाथि समेत प्रश्न उठ्ने उहाँको भनाई छ । उहाँले नेपाल बार एशोसिएशनले उठाएका विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिनुभयो ।

    ३३. न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र

    नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिन नमिल्ने बताउनुभएको छ । कानून, न्याय तथा मानव अधिकार समितिमा बिहीवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उहाँले जिल्ला न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रश्तावप्रति आपत्ति जनाउनुभएको हो । न्यायधीशलाई मेलामिलापकर्ता बनाउने व्यवस्था संवैधानिक प्रावधान र न्यायिक स्वतन्त्रताको सिद्धान्तविपरित हुने उहाँको बताउनु भयो । न्यायाधीशलाई न्यायिक कामबाहेक अन्य जिम्मेवारीमा लगाउन नमिल्ने उहाँले स्पष्ट पार्नुभयो । न्यायाधीशलाई मेलमिलापकर्ताको भुमिकामा राख्ने प्रश्ताव नेपाल बारले अस्वीकार गर्ने उहाँको भनाई छ । 

    ३४. मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रश्ताव गरेका हौँः कानूनमन्त्री गौतम

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रश्ताव गरेको स्पष्ट पार्नुभएको छ । कानून, न्याय तथा मानव अधिकार समितिमा बिहीवार भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले न्यायाधीशको रोहबरमा मेलमिलाप हुँदा थप विश्वासयोग्य हुने बताउनु भयो । न्यायाधीशलाई मेलमिलाप प्रक्रियामा संलग्न गराउदाँ सामाजिक तथा संस्थागत विश्वसनीयता थप बलियो हुने उहाँको भनाई छ । तर उक्त प्रश्तावमा सबै सरोकारवालाको असहमति भएमा विकल्पबारे छलफल गर्न पनि सरकार तयार रहेको उहाँले बताउनु भयो । समितिमा सरोकारवाला, सांसद तथा नेपाल बार एशोसिएशनले न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रश्तावको विरोध गरेका छन् । मेलमिलापकर्ताको काम न्यायिक काम नै भएको उल्लेख गर्दै उहाँले न्यायधीशलाई मेलमिलापकर्ता बनाउन सकिने दाबी गर्नुभयो ।

    ३५. सर्वोच्चमा प्रश्तावित चार न्यायाधीशविरुद्ध २८ उजुरी, शुक्रवारदेखि सुनुवाई थाल्ने

    सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जना न्यायाधीश विरुद्ध २८ वटा उजुरी परेका छन् । संसदीय सुनुवाई समितिको बिहीवार बसेको बैठकमा समिति सभापति वोधनारायण श्रेष्ठले उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार प्रश्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दविरुद्ध पाँच, चन्द्रबहादुर सारुविरुद्ध ६, जनक पाण्डेविरुद्ध १० र गोकर्ण डाँगीविरुद्ध सातवटा उजुरी परेका हुन् । चारै जनाविरुद्ध १३ जना उजुरीकर्ताले उजुरी दिएको उहाँले जानकारी दिनुभयो । तीमध्ये पाँच जनाले चारै जना प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिएको उहाँको भनाई छ ।

    ३६. सांसदहरु भन्छन्–‘सरकारको ध्यान गर्नुपर्ने काममा नभई अन्यत्र गइरहेको छ’

    प्रतिनिधि सभाका सांसदहरुले सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले सरकारको गर्नुपर्ने नगरि नगर्नुपर्ने काम गरिरहेको आरोप लगाएका हुन् । चाडपर्वको बेला महंगी नियन्त्रण, बजार अनुगमन, विपद् प्रभावित नागरिकलाई राहत वितरणतिर सरकारको ध्यान जानुपर्ने भएपनि अनेक फण्डामा केन्द्रित भएको उनीहरुको आरोप छ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले विपद् पीडितका लागि राहत कोषमा १८ अर्ब रुपैयाँ रहेको भनिएपनि पीडितले घरभाडाबापत पाउनुपर्ने १५ हजार रुपैयाँसमेत नपाएको बताउनु भयो । उहाँले बाढीपीडित तथा विस्थापित सुकुम्बासीलाई राखिएका होल्डिङ सेन्टरको अवस्था तत्काल सार्वजनिक गर्न पनि माग गर्नुभयो ।

    ३७. आन्तरिक लेखापरीक्षणमा १० अर्ब ६८ करोड बेरुजु, एक वर्षमै १ अर्ब ४४ करोडले बढ्यो

    सरकारी निकायहरूको आर्थिक कारोबारमा आर्थिक वर्ष २०८२÷८३ मा १० अर्ब ६८ करोड १५ लाख रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार पारेको आन्तरिक लेखापरीक्षणको एकीकृत वार्षिक प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा विनियोजन, राजस्व, धरौटी तथा कार्य सञ्चालन कोषको कारोबार परीक्षण गर्दा १० अर्ब ६८ करोड १५ लाख ८० हजार ८९९ रुपैयाँ बेरुजु कायम भएको हो । महालेखा नियन्त्रक कार्यालयले २०८३ कात्तिक १३ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१÷८२ मा ९ अर्ब २४ करोड ३१ हजार ६०३ रुपैयाँ ३८ पैसा बेरुजु कायम भएको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बेरुजु रकम १ अर्ब ४४ करोड १५ लाख ४९ हजार रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । 
    प्रतिवेदनअनुसार समीक्षा अवधिमा असुलउपर गर्नुपर्ने बेरुजु ३ अर्ब ४२ करोड ६६ लाख ३१ हजार ३३१ रुपैयाँ रहेको छ । त्यस्तै, नियमित गर्नुपर्ने बेरुजु १ अर्ब ९८ करोड ३३ लाख २० हजार ६३ रुपैयाँ र म्याद नाघेको पेस्की ५ अर्ब २७ करोड १६ लाख २९ हजार ५०५ रुपैयाँ रहेको छ । 

    ३८. सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, त्रर्सिदैनौँः महामन्त्री पौडेल

    नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाइएको भन्दै काँग्रेस धम्की दिँदैमा नतर्सिने बताउनुभएको छ । बिहीवार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले बिचौलिया इनम सापकोटा र गगनकुमारबीच कुनैपनि प्रकारको चिनजान र लेनदेन नभएको समेत उहाँले स्पष्ट पार्नुभयो । बिचौलिया सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा हिँडेको देखिएको उहाँको भनाइ छ । महामन्त्री पौडेलले सरकारले काँग्रेस र सभापति थापामाथि लगाएको आरोपको पुष्टि गर्न समेत उहाँले चेतावनी दिनुभयो । उहाँले सरकारले कानूनअनुसार मर्यादामा बस्नुपर्ने उहाँको भनाइ छ ।–न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :कार्तिक १९ २०८३ बिहिवार - १८:३६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij